गंगा प्रसाद साह
भारदह । चालू आ.ब.२०८१/८२ को तलव, भत्ता उपलब्ध नगराएको भन्दै शिक्षक तथा कर्मचारीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा तालाबन्दी गरेका छन् ।
शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीले आइतबार नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन् ।
प्रमुख चाडपर्व दशै, तिहार र छठ पर्वमा समेत तलव भत्ता नदिदा समस्या भएको उनीहरुको भनाई छ । ‘तलव नपाउँदा अहिले छाँक टार्न नै समस्या भएको छ’ शिक्षक आन्दोलन परिचालन समितिका संयाेजक अशोक यादवले भने, ‘पटक-पटक मेयर, उप मेयर, वडा अध्यक्ष समेतलाई जानकारी गराउँदा समेत तलव उपलब्ध नगराएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको छ ।’
तलव माग्दै शिक्षकले गत ६ कात्तिकमा नगरपालिकाका प्रमुखसहितकालाई ज्ञापन बुझाएका थिए । ६ दिनकाे अल्टिमेटम दिएर ज्ञापन बुझाउँदा समेत ध्यान नदिएपछि ११ कात्तिकदेखि शिक्षकले विद्यालय बन्द गरी धर्ना शुरु गरेका थिए ।
धर्ना दिदा समेत कुनै चासो नदिएपछि बाध्य भएर तालाबन्दी केन्द्रित आन्दोलन गर्नुपरेको उनीहरूको भनाई छ ।
तलाबन्दीमा स्वास्थ्यकर्मीले समेत एक्यवद्धता जनाएका छन् । जनस्वास्थ्य अधिकृत बिरेन्द्र यादवले तलव नपाउदा आर्थिक समस्या उत्पन्न भएको बताए ।
यो नगरपालिकामा चालू आ.ब. २०८१/८२ को हालसम्म पनि सभा हुन सकेको छैन ।
शिक्षकले आन्दोलन गरिरहँदा नगरपालिकाका प्रमुख बिरेन्द्र माझी पितृ शाेकमा परेका छन् । मेयरलाई समस्या हुँदा उप मेयर र वडा अध्यक्ष भेट्न समेत नआएको उनीहरूकाे गुनासो छ ।