![]()
राजविराज । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा अध्ययनरत प्रकृति लम्सालको शंकास्पद मृत्युको छानबिन गरी दोषीलाई कार्वाही गर्न माग गर्दै राजविराजमा प्रदर्शन गरिएको छ ।
सप्तरीका विद्यार्थी संगठनको अगुवाईमा केआईआईटी कलेजबाट फर्केर आएका विद्यार्थीहरु समेतको सहभागितामा बिहीबार साँझ राजविराजमा प्रदर्शन गरिएको हो ।
विद्यार्थी संगठनका नेताहरुले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कार्वाहीको माग गरेका छन् । उनीहरुले प्रकृतिको आत्मा शान्तिका निम्ति मैनबत्ति समेत प्रज्ज्वलन गरेका छन् ।
त्यस क्रममा प्रदर्शनकारीले ‘प्रकृतिलाई न्याय दे, दोषीलाई कार्वाही गर, नेपाली विद्यार्थीलाई सुरक्षाको ग्यारेन्टी गर, भविष्यको सुनिश्चितता गर’ जस्ता नारासहितको प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनकारी विद्यार्थी संगठनका नेताहरुले प्रकृति लम्सालको घट्नापछि नेपाली विद्यार्थीसँग गरिएको व्यहार अत्यन्तै खराब रहेको भन्दै उक्त घट्नामा संलग्न सबैलाई कानुन अनुसारको कार्वाही गर्न माग गरे ।
प्रदर्शनकारीले विश्वविद्यालय प्रशासन र भारतीय कानुनी निकायलाई घटनाको गम्भीर छानबिन गरी पीडित परिवारलाई न्याय दिन आग्रह गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
प्रदर्शनमा नेवि संघका अध्यक्ष राकेश ठाकुर, अनेरास्वबियूका जिल्ला अध्यक्ष रंजित साह, समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष श्याम यादव, लोकतान्त्रिक विद्यार्थी युनियनका जिल्ला अध्यक्ष महेश यादवसहितकाको सहभागिता थियो ।












