![]()
राजविराज । नेपाली कांग्रेस, सप्तरीले मधेश प्रदेश प्रमुखले संविधानको उल्लंघन गरेर मुख्यमन्त्री नियुक्त गरेको बताएको छ ।
पार्टीका जिल्ला सचिव सनत मण्डलले संविधान विपरित गएर प्रदेश प्रमुख सुमित्रा सु्वेदी भण्डारीले एमालेका प्रदेश सांसद सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको बताएका छन् । ‘आफू बिरामी छु भन्दै उपचारका लागि काठमाडौं जाने बहानामा बर्दिवासको होटेलमा मुख्यमन्त्री नियुक्त गर्नु षडयन्त्र मात्रै होइन, संविधान विपरितको काम हो’ सचिव मण्डलले भनेका छन् ।
संविधानको धारा १६८ को उपधारा ३ मा पुग्ने अवस्था नै नभएको अवस्थामा पनि बलजफ्ती होटेलमा गएर मुख्यमन्त्रीलाई शपथ गराउनु प्रदेश प्रमुखको अनैतिक र स्वेच्छाचारी निर्णय भएको उनको भनाई छ ।
मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनुअघि नै राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ नै कार्यान्वयन हुने अवस्थामा एक्कासी धारा ३ मा गएर मुख्यमन्त्री नियुक्त गर्नु सरासर गलत भएको सचिव मण्डलले बताए ।
‘मुख्यमन्त्री प्रदेश प्रमुखको कार्यालयमा नियुक्त तथा शपथ हुँदै आएकोमा होटेलमा गएर गर्नु र सभामुख, अन्य सांसदले यसको जानकारी समेत नपाउनु ठूलो षडयन्त्र हो’ सचिव मण्डलले भनेका छन्, ‘संवैधानिक तरिकाले यो बिषयलाई सच्चयाउनु आवश्यक छ ।’












