![]()
राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका जनप्रतिनिधिले पालिकाको कार्यालय सार्न लाग्दा केही व्यक्तिले भ्रम छर्न खोजेको आरोप लगाएका छन् ।
नगरपालिकाका प्रमुख बिरेन्द्र माझीसहितका जनप्रतिनिधिले आज पालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो आरोप लगाएका हुन् ।
नगरपालिकाले कार्यालय वडा नम्बर ५ र ७ को सिमानामा निर्माण भएको पशु अस्पतालमा सार्ने निर्णय गत २७ चैतको कार्यपालिका बैठकले गरेको छ । २४ जना कार्यपालिका सदस्यमध्ये १६ जनाले हस्ताक्षर गरि बहुमतले उक्त निर्णय गर्दा केही वडा अध्यक्षसहित स्थानीयले ३० चैतमा कार्यालयमा ताला लगाएका थिए ।
तर, सोही दिन नगर प्रमुख माझीले प्रहरीको उपस्थितिमा ताला तोडेर कार्यालय संचालनमा ल्याएका थिए ।
आजको पत्रकार सम्मेलनमा नगर प्रमुख माझीले पालिकाको विभिन्न शाखा र वडा कार्यालय अहिले पनि भाडामा रहेको र लाखौं खर्च भइरहेकाले त्यसलाई राेक्न कार्यालय सार्ने निर्णय गरिएको बताए ।
‘सुविधा सम्पन्न पशु अस्पताल निर्माण भएको छ’ उनले भने, ‘यता अहिलेको भवनमा पालिका राम्रोसँग संचालन गर्न समस्या छ । एकातिर भवन हुने र अर्कोतर्फ समस्या भएकाले यस्तो निर्णय गरिएको छ ।’
उनले पालिकाको आफ्नो भवन निर्माण नभएसम्मका लागि कार्यालय सार्न लागिएको बताए ।
‘तर केही व्यक्ति यसलाई भ्रम फैलाउन खोजेका छन्’ उनले भने, ‘यो भ्रममा नपर्न जनतासङ आग्रह गर्दछु ।’
जनतालाई नै राम्रो सेवा दिन र पालिकाको भाडा बापत खर्च भइरहेको बजेट राेक्न यस्तो निर्णय गरिएको बताउँदै यसमा सबैको सहयोगको अपेक्षा गरे ।
पत्रकार सम्मेलनमा सहभागी वडा नम्बर १ का अध्यक्ष सुरेन्द्र मण्डल, ७ का अध्यक्ष राजेश्वर ठाकुर, ११ का अध्यक्ष साकिर खान, वडा नम्बर १४ का अध्यक्ष कृस यादवसहितकाले राम्रो काम गर्न खोज्दा जनतामा भ्रम फैलाउन खोजेको बताए ।












