![]()
राजविराज । भन्सार छलेर ल्याइएको ठूलो परिमाणको ‘सोनारी डाई’ र एउटा कारसहित दुई जना भारतीय नागरिक राजविराजबाट पक्राउ परेका छन् ।
राजविराजबाट सिरहातर्फ जाँदै गरेको बी आर ३९ ए भी ०८७१ नम्बरको भारतीय कारलाई उच्च अदालत जनकपुर राजविराज इजलास अगाडिको सार्वजनिक सडक खण्डमा जाँच गर्ने क्रममा ६१८ थान सोनारी डाई भेटिएको प्रहरीले जनाएको छ ।
कारको बिचको सिट र पछाडिको डिक्कीमा लुकाएर राखिएको अवस्थामा सोनारी डाई भेटिएपछि कार चालक भारतको विहार राज्य अन्तर्गत कटिहार जिल्ला, कटिहार थाना, दुर्गापुर ग्राम पञ्चायत पश्चिम टोल वडा नम्बर ३२ बस्ने ४९ वर्षीय नाहिद निनियाज अख्तर र ५० वर्षीय मो. एकबाललाई पक्राउ गरिएको हो ।
बरामद गरिएको कार र ६१८ थान सोनारी डाईसहित नियन्त्रणमा लिइएका दुवै व्यक्तिलाई आवश्यक कार्वाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठी, सप्तरीमा बुझाइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी हेमराज घिमिरेले जानकारी दिए ।
सुन चाँदीलाई विभिन्न आकार दिन, डिजाइन बनाउन प्रयोग गरिने एक किसिमको मेसिन ‘सोनारी डाई’ हो । यहीं मेसिनको प्रयोग गरी गहनाहरुमा आकर्षक बुट्टा समेत भर्ने गरिन्छ ।












