![]()
परिष कर्ण
राजविराज । सप्तरीको खडक नगरपालिका बाल श्रममुक्त पालिका घोषणा भएको छ ।
यो पालिका मधेश प्रदेशको दोस्रो तथा सप्तरी जिल्लाको पहिलो बाल श्रममुक्त पालिका घोषणा भएको हो ।
शून्यदेखि १८ बर्ष उमेर समूहका १८ हजार पाँच सय पैतिस जना बालबालिका रहेको नगरपालिकाले बुधबार एक कार्यक्रमकाबीच बाल श्रममुक्त नगर घोषणा गरेको हो ।
नगर प्रमुख जयप्रकाश चौधरी र उपप्रमुख रीता कुमारी चौधरीले संयुक्त रूपमा घोषणा पत्र वाचन गरेर खडक नगरपालिकालाई बालश्रममुक्त घोषणा गरे ।
‘हमर खडक नगरपालिका, हमर गौरव, बालश्रम नै करू, नै कराउ’ भन्ने मूल नारा सहित आयोजित कार्यक्रममा नगर प्रमुख चौधरीले बालश्रममुक्त नगर घोषणालाई पूर्ण रूपमा कार्यान्वयन गरी बालबालिकाको अधिकार संरक्षणमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बाल कल्याण अधिकारी अनिता कुमारी साहले बालश्रममुक्त नगरपालिका घोषणा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै बालश्रम न्यूनीकरण अभियान सञ्चालन निर्देशिका अनुसार सबै प्रक्रिया पुरा गरी तथ्यांक संकलन र विश्लेषणका आधारमा नगरपालिका बालश्रममुक्त घोषणा गरिएको जानकारी दिइन् ।
सबल नेपाल, सेभ द चिल्ड्रेन तथा खडक नगरपालिकाको सहकार्यमा बालश्रम अन्त्यका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।
घरधुरी सर्वेक्षण, बालश्रममा रहेका बालबालिकाको पहिचान तथा अभिलेखीकरण, विद्यालय भर्ना तथा पुनः भर्ना अभियान, अभिभावक अभिमुखीकरण, बाल क्लब तथा किशोर समूह परिचालन, वडा बालअधिकार समिति परिचालन तथा बालअधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रममार्फत बालश्रम न्यूनीकरणमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नगरपालिकाले प्रत्येक वडामा जनचेतनामूलक अभियान सञ्चालन गरी बालश्रम नगर्ने र नगराउने प्रतिबद्धता गर्दै बालबालिकालाई विद्यालय पठाउने वातावरण निर्माण गरेको जनाएको छ ।
कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, नगरस्तरीय शाखा प्रमुख, सरोकारवाला निकायका प्रतिनिधि, सबल नेपाल, सेभ द चिल्ड्रेनका प्रतिनिधि तथा बालबालिकाहरूको सहभागिता रहेको थियो ।








