![]()
राजविराज । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन अध्यादेश ल्याउन पहल गर्ने बताएकी छन् ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको अनुगमन तथा निरीक्षणका लागि यहाँ आएकी उनले यस्तो बताएकी हुन् ।
प्रतिष्ठानको ऐन तयारी अवस्थामा रहेको र संसद नहुँदा अगाडि बढ्न नसकेको प्रतिष्ठानका पदाधिकारीबाट जानकारी पाएपछि मन्त्री गौतमले अध्यादेश ल्याउन पहल गर्ने बताइन् ।
‘प्रतिष्ठानको ऐन तयारी अवस्थमा छ, संसद नभएर आउन नसकेको हो’ उनले भनिन्, ‘अब काठमाडौं गएर प्रधानमन्त्रीसँग यसबारेमा कुरा राख्छु । मौका मिल्यो भने राष्ट्रपतिसँग पनि भेटछु । अध्यादेश मार्फत ल्याउँ भन्न्ने छ त्यो गर्न सकियो भने राम्रो हुन्छ ।’
मन्त्री गौतमले ‘यसो गर्न नसकिए यसलाई प्राथमिकताका साथ आउने मन्त्रीलाई जिम्मा लगाउँछु’ उनले भनिन् ।
मन्त्री गौतमले गजेन्द्रनारायण सिंह अस्पतालमा ११औं तहका कर्मचारी आउन नमान्दा निमित्त राख्नुपर्ने बाध्यता रहेको बताइन् । ‘अहिले ११औं तह त छ, तर उनको पनि अर्कै ठाउँमा सरुवा भएको छ’ उनले पत्रकारसँग भनिन्, ‘तपाईंहरु नै नाम दिनुस उसैलाई पठाउँछु ।’
मन्त्री गौतमले जनताहरुले पनि डाक्टरलाई माया गरिदिनुपर्ने बताइन् ।
उनले अस्पतालमा चिकित्सक कम रहेको जानकारी पाएपछि तत्काल पठाउन पहल गर्ने बताइन् ।
‘नयाँ भवनहरु बनेको छ, त्यसलाई संचालन गर्न पनि जनशक्ति चाहिन्छ’ उनले भनिन्, ‘म जनशक्ति पठाउनका लागि पहल गर्छु ।’












