![]()
राजविराज । सप्तरीमा आन्तरिक राजस्व कार्यालय स्थापना नगरेसम्म करदाता सेवा कार्यालय हटाउन नमिल्ने भन्दै आन्दोलनको घोषणा भएको छ ।
सप्तरीमा आन्तरिक राजस्व कार्यालय स्थापनाका लागि संघर्ष समिति गठन भएको छ । समितिले शनिबार नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत मंसिर २१ गते बिहान ११ देखि दिउँसो १ बजेसम्म र २२ गते दिउँसो २ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइने संघर्ष समितिका संयोजक मोहन कुमार यादवले जानकारी दिए ।
उनले मंसिर २३ गते जिल्लाभरिका सम्पूर्ण पालिका, वडा कार्यालयसहित जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय बन्द गरिने पनि बताए ।
जेनजी सरकारले राजविराजस्थित करदाता सेवा कार्यालय सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्न खोजेपछि यसअघि सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा आन्दोलन भएको थियो ।
पछिल्लो पटक जिल्लास्थित सम्प्ूर्ण राजनीतिक दल, जेनजीहरुको उपस्थितिमा बसेको बैठकले जिल्लामा आन्तरिक राजस्व कार्यालय स्थापनाका निम्ति यादवको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलन घोषणा गरिएको छ ।
पत्रकार सम्मेलनमा संयोजक यादवले जिल्लामा आन्तरिक राजस्व कार्यालय स्थापना नगरिएसम्म करदाता सेवा कार्यालय हटाइए असह्य हुने बताए ।












