![]()
राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लामो समयदेखि आठ वटा शव राखिएको छ ।
जिल्लाको विभिन्न ठाउँमा फेला परेका शव अस्पतालको पोष्टमार्टम कक्षमा राखिएको छ ।
अस्पतालको पोष्टमार्टम कक्षमा चार महिनादेखि आठ जनाको शव राखिएको अस्पतालको मेडिकल रेकर्ड मेडिको लिगल शाखाका प्रमुख मनोज देवले जानकारी दिए ।
वेवारिसे अवस्थामा भेटिएको ती शवहरु प्रहरीले पोष्टमार्टमका लागि ल्याएको थियो । तर पहिचान नखुल्दा शव अस्पतालमै राखिएको छ ।
अस्पतालभित्र पोष्टमार्टम कक्षभित्रको डीफ्रीजमा ती शव हरु राखिएको छ । ’अब कुनै शव आउँदा राख्ने ठाउँ छैन’ देवले भने, ’पटकपटक यी शवको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग आग्रह गरेपनि कसैले चासो लिएको छैन ।’
विद्युत कट्दा अस्पतालमा दुर्गन्ध फैलिने गरेको चिकित्सकहरुको भनाई छ ।
सदरमुकाम राजविराजसहित कंचनरुप नगरपालिका तथा बिष्णुपुर र रुपनी गाउँपालिकाको छुट्टाछुट्टै ठाउँबाट यी शवहरु भेटिएको छ । बिभिन्न मितिमा भेटिएका शवहरुको हालसम्म पहिचान हुन नसक्दा पोष्टमार्टम कक्षमा राखिएको छ ।
कंचनरुप नगरपालिकाको छुट्टाछुट्टै ठाउँबाट दुई पुरुष र एक महिला, बिष्णुपुर गाउँपालिका वडा नम्बर ७ बाट एक पुरुष, रुपनी गाउँपालिकाबाट एक पुरुष, राजविराज नगरपालिका ६ बाट एक पुरुष, राजविराज–१४ बाट एक बालिका र राजविराज नगरपालिका वडा नम्बर ४ बाटै एक बालिकाको शव भेटिएको थियो ।
भेटिएको शव पोष्टमार्टमका लागि प्रहरीले अस्पताल ल्याएको थियो । तर शवको सनाखत हुन नसक्दा कोहि पनि लिन आएका छैनन् । जसका कारण शव यहीं राखिएको छ ।
वेवारिसे शव भेटिएको पालिकाकाले शव व्यवस्थापन गर्ने व्यवस्था छ । तर, ती पालिकाहरुले कुनै पनि चासो नलिएको अस्पतालको मेडिकल रेकर्ड मेडिको लिगल शाखाका प्रमुख देवले बताए ।
‘हामीले शव भेटिएका पालिकासहित प्रमुख जिल्ला अधिकारीसम्म गुहार लगाएका छौं’ तर कसैले कुनै चासो लिएको छैन्’ उनले भने, ‘अब कुनै शव आउँदा राख्ने ठाउँ छैन् ।’
विद्युत कटेको बेला अस्पतालभरि नै दुर्घन्ध फैलिएर समस्या भइरहेको चिकित्सकहरु बताउँछन् । दुर्गन्ध फैलिएपछि काम गर्न नै समस्या उत्पन्न हुने गरेको उनीहरुको भनाई छ ।












