![]()
राजविराज । सप्तरीका चार व्यक्तिको नाम समानुपातिक बन्द सूचीबाट हटाइएको छ । दुई जना महिला र दुई पुरुषको नाम समानुपातिक बन्द सूचीबाट हटेको हो ।
निर्वाचन आयोगले देशभरिका बिभिन्न व्यक्तिको नाम समानुपातिक बन्द सूचीबाट हटाउँदा सप्तरीका चार जना परेका हुन् । तीन जनाको आयोगले तोकेको जरिवाना रकम भुक्तान नगरेकाले र एक जनाको उमेर नै नपुगेका कारणले सूचीबाट हटाइएको आयोगले जनाएको छ ।
आयोगले सप्तरीका संजीबनारायण यादव, राजदेव राम, सुमित्रा मण्डल र पूजा कुमारी चौधरीको नाम समानुपातिक सूचीबाट हटाएको छ ।
यादव बिष्णुपुर गाउँपालिका वडा नम्बर ७ का, राजदेव खडक नगरपालिका ३ का, सुमित्रा महादेवा गाउँपालिका २ का र पूजा शम्भुनाथ नगरपालिका ६ का बासिन्दा हुन् ।
संजीबनारायणको नाम श्रम संस्कृति पार्टीबाट, राजदेवको नाम राष्ट्रिय परिवर्तन पार्टीबाट, सुमित्राको नाम मितेरी पार्टी नेपालबाट र पूजाको नाम प्रजातान्त्रिक पार्टी नेपालबाट समानुपातिक सूचीमा परेको थियो ।
आयोगले पूजाको उमेर नै नपुगेका कारण हटाएको जनाएको छ । २५ बर्ष उमेर पूरा नभएकाले उनको नाम हटाइएको छ ।
बाँकी तीन जनाको नाम आयोगले तोकेको जरिवाना रकम भुक्तान नगरेकाले हटाइएको आयोगले जनाएको छ ।












