![]()
राजविराज । सप्तरीबाट दुई जना उज्वेकिस्तानी महिला पक्राउ परेकी छन् ।
जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ स्थित बेल्ही–चन्ही सडक खण्डबाट उनीहरुलाई पक्राउ गरिएको हो । शनिबार राति दुबैलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा उज्वेकिस्तानको फेरगनाकी सोखिस्ता अकबारोभा र हारेजीमकी फेरुजा याक्सिर्मुतोभा छन् । दुबै ३९ बर्षको रहेको प्रहरी श्रोतले जनाएको छ ।
उनीहरु कसरी यहाँ आईपुगे भन्ने सन्दर्भमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । कुराकानीका क्रममा दुबै काठमाडौं हुँदै आएको पाइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जनाए ।
‘पक्राउ परेकी महिलाले आफूहरुको पासपोर्ट र भिसा काठमाडौंको होटेलमा रहेको बयान दिएका छन्’ बस्नेतले भने, ‘थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाउने तयारी गर्दैछौं ।’












