![]()
राजविराज । सप्तरीमा पाठेघरकाे मुखको क्यान्सरविरूद्वकाे एचपीभी खाेप लगाउने अभियान माघ २५ गतेबाट शुरू हुने भएको छ ।
एचपिभी खोप संचालनको लागि जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरु सँग जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार आयोजना गरेको बैठकमा यस्तो जानकारी गराइएको छ ।
जिल्लामा दुई चरणमा याे अभियान संचालन हुनेछ । माघ २५ देखि फागुन १० गतेसम्म अभियान संचालन हुनेछ ।
माघ २५ देखि जिल्लाकाे नाै पालिकामा र २८ गतेदेखि बाँकी नाै पालिकामा याे अभियान शुरू गरिने जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।
पहिलो चरणमा डाक्नेश्वरी, बोदे बर्साइन, सुरुङा, खडक र शम्भुनाथ नगरपालिका तथा छिन्नमस्ता, राजगढ, बलानबिहुल र रूपनी गाउँपालिकमा याे खाेप दिइनेछ ।
दोस्रो चरणमा राजविराज, कंचनरुप, सप्तकोशी, हनुमाननगर कंकालिनी नगरपालिका तथा तिरहुत, महादेवा, अग्निसाइर कृष्णसवरन, तिलाठी काेइलाडी र बिष्णुपुर गाउँपालिकामा खाेप अभियान संचालन गरिनेछ ।
जिल्लाकाे ५८० खाेप केन्द्रबाट जिल्लाका नाै हजार ७८९ किशोरीलाई याे खाेप प्रदान गरिने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
याे खाेप विद्यालय नजाने १० बर्षको किशोरीलाई र विद्यालयमा अध्य्यनरत कक्षा ६ का सबै किशोरीलाई प्रदान गरिनेछ ।
साथै गत आर्थिक बर्षको अभियानमा छुट भएका कक्षा ७ देखि १० मा अध्ययनरत छात्राहरु र विद्यालय नजाने ११ देखि १४ बर्षका किशोरीलाई समेत यो खोप प्रदान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।












