![]()
राजविराज । पिठ्यूँमा एउटा व्यानर टाँगिएको छ । जसमा लेखिएको छ, ‘स्थिर सरकार युगको आवश्यक्ता, राजनीतिक स्थायित्व, सुशासन र समृद्धिको लागि ।’
यो व्यानर पिठ्यूँमा अड्काउँदै हातमा राष्ट्रिय झण्डा लिएर एक व्यक्ति निरन्तर पैदल हिंडिरहेका छन् ।
यसरी हिंडने व्यक्ति हुन रुकुम पश्चिम जिल्लाको चौरझारी नगरपालिका वडा नम्बर १३ निवासी विजय कुमार शर्मा । उनी अहिले मेची–महाकाली पैदल यात्रामा छन् ।

२१ माघको बिहान मेची पुलबाट पदयात्रा शुरु गरेका उनी सोमबार सप्तरीको सुरुङा नगरपालिकामा भेटिए । लेखकसँगै पशुपालक समेत रहेका उनी अबको निर्वाचनपछि स्थिर सरकार बन्नुपर्ने बताउँछन् ।
अबको निर्वाचनपछि देशले स्थिर सरकार पाउनुपर्ने र त्यसका लागि सबै जनतालाई मतदान गर्न अपील गर्दै यो पदयात्रा शुरु गरिएको उनले बताए ।
२०४८ सालपछिको सबै सरकार एक बर्ष, ८ महिना, ६ महिनामा फेरवदल भएका छन्’ उनले भने, ‘यसका निम्ति सबै मतदाताले सोंच्नु आवश्यक छ ।’
अब पनि स्थिर सरकार दिन नसकिए आउने समय झन कालो र बर्बादीका साथै भयानक दिन आउने उनले बताए ।
‘बाजेले दुःख पाए, बुवाले दुःख पाए, हामीले पनि दुःख पायौं’ उनले हाम्रा सन्तानले दुःख नपाउन, त्यसका लागि देशमा स्थिर सरकार बन्नु जरुरी छ ।’
अली अली सबै वार्टीले सिट पाउँदा भागबण्डाको खेल हुने र त्यसपछि स्वभाविक रुपमै भ्रष्टाचार बढ्ने उनले बताए ।
‘जुनसुकै पार्टीलाई दिनुस, एउटै पार्टीलाई दुई तिहाई दिनुस्’ उनले भने, ‘संविधानलाई राम्रो बनाउन पनि दुई तिहाई चाहिन्छ ।’
कुनै एक दलको सरकार भए देश स्थिर हुने उनले बताए । ‘यदी त्यस्तो सरकार निरंकुश भए आफैं बढारिएर जान्छ’ उनले भने, ‘निरंकुशता धेरै दिन टिक्दैन ।’
२१ देखि २४ दिनसम्म महाकाली पुग्ने लक्ष्य लिएको बताउँदै उनले एक दुई दिन यताउती हुन सक्ने बताए ।












