३० कात्तिक, सप्तरी । सप्तरी–२ मा दुई जना राष्ट्रिय अध्यक्षका प्रतिस्पर्धी रहेका जयप्रकाश ठाकुरले बुधबार शक्ति प्रदर्शन गरेका छन् ।
प्रतिनिधी सभा सदस्य पदमा उम्मेदबारी दिएका जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका प्रतिस्पर्धी ठाकुरले सदरमुकाम राजविराजमा ‘रोड शो’ मार्फत् शक्ति प्रदर्शन गरेका हुन् ।
ठाकुर लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदबार हुन् । उनीसँगै प्रदेश सभा २ (१) का उम्मेदबार सरोज मण्डल र २ (२) का उम्मेदबार उमेश यादव पनि सहभागी रहेको रोड शोमा १५ हजारभन्दा बढीको सहभागिता रहेको छ ।
राजविराजस्थित पब्लिक बिन्देश्वरी मावि प्राङणबाट निकालिएको रोड शो नगरको सबै भाग परिक्रमा गरेको छ । रोड शोका कारण राजविराज नगरपालिका खचाखच भरेको थियो ।
रोड शोमा गठबन्धनसँग आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एकीकृत समाजवादीका नेता र कार्यकर्ताको वाक्लो उपस्थिति थियो ।
रोड शोपछि संचारकर्मीसँग बोल्दै प्रतिनिधी सभा सदस्य उम्मेदबार ठाकुरले चर्चा दुई अध्यक्षको मात्रै भएपनि विजयी आफू हुने बताए । ‘मसहति प्रदेशका उम्मेदबार पनि निर्वाचित हुने निश्चित छ’ उनले भने ।