![]()
परिष कर्ण
राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दै बन्द गर्न निर्देशन दिएको पोलिक्लिनिक टोली गए लगत्तै पुनः संचालन गरेको पाइएको छ ।
स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिरहेको प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न मुख्यमन्त्रीले निर्देशन दिएका थिए । एकथरी अनुमति र अर्कोथरी सञ्चालनमा रहेको प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरलाई बन्द गर्न निर्देशन दिएर बन्द गराइएको उक्त पोलिक्लिनिक केहि बेरमै पुनः खुलेको पाइएको हो ।
मुख्यमन्त्री नेतृत्वको टोली बन्द गराएर फर्केको केहि बेरमै यो पोलिक्लिनिक संचालकले खोलेर बिरामीको जाँच गर्न शुरु गरेका थिए । यो जानकारी पाएर पुगेको प्रहरी टोलीले बन्द गर्न निर्देशन दिएका थिए । तर, पूर्जा कटाएर बसेका बिरामीको जाँच गरेर भोलि सोमबारदेखि बन्द गर्ने बताइएपछि बिरामी जाँच्न दिइएको छ ।
सोमबारदेखि यो पोलिक्लिनिक नखोल्ने संचालकले बताएका छन् । यो पोलिक्लिनिक गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. दिलिप साहको हो ।
प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरले स्थानीय तहबाट क्लिनिक सञ्चालन अनुमति लिए पनि शय्या राखी इमेजिङ तथा शल्यक्रियासहितको सुविधा उपलब्ध गराउँदै आएको पाइएपछि बन्द गराइएको थियो ।
यस्तो सुविधासहितको स्वास्थ्य सेवा सञ्चालन गर्न पोलिक्लिनिकका रूपमा प्रदेश सरकारबाट सेवा सञ्चालन अनुमतिपत्र लिने प्रावधान छ ।











