![]()
राजविराज । एसईई परीक्षालाई लिएर मधेश प्रदेश सरकार र शिक्षक संगठनबीच विवाद बढेको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले परीक्षाको केन्द्राध्यक्ष गोलाप्रथाबाट गरिनुपर्ने बताएपछि शिक्षक संगठनहरु त्यसको बिरोधमा उत्रिएका छन् ।
गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए प्रदेश सरकारले एसइई परीक्षा सञ्चालन प्रक्रियामा सामेल नहुने स्थिति आउन सक्ने चेतावनी दिएको छ भने शिक्षक संगठनहरुले गोला प्रथाबाट गरिए आफूहरुले परीक्षा बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
यो बिषयलाई लिएर मुख्यमन्त्री सतिश कुमार सिंहको गृह जिल्ला सप्तरीका शिक्षक संगठनहरुले एसईई परीक्षा बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
मधेश प्रदेश सरकारले राष्ट्रिय परीक्षा बोर्डको एसईई परीक्षा संचालन निर्देशिका अनुसार केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा निरीक्षकहरुको व्यवस्था गरेको विपरित मधेश सरकारले गोला प्रथाद्वारा केन्द्राध्यक्ष चयन गरिने बताएपछि शिक्षक संगठनहरुले परीक्षा बहिष्कारको चेतावनी दिएका हुन् ।
माध्यमिक परीक्षा जस्तो सम्वेदनशिलतालाई नजर अन्दाज समेत गर्न नसक्ने मधेश प्रदेश सरकारको यस्ता गैर जिम्मेबारी क्रियाकलापप्रति शिक्षक संगठनहरुले घोर भर्त्सना गरेका छन् ।
कानुनमा व्यवस्था भए अनुसार नै एसईई परीक्षा संचालनमा सहयोग गरीदिन मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराउँदछौं’ संगठनका प्रतिनिधीहरुले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘अन्यथा एसईई परीक्षा २०८१ बहिष्कार गर्न बाध्य हुनेछौं । यसबाट पुग्ने क्षतिको सम्पूर्ण जिम्मेबारी मधेश प्रदेश सरकार हुनेछ ।’
नेपाल शिक्षक महासंघका निबर्तमान अध्यक्ष दिनेश प्रसाद यादव, एकीकृत अखिल नेपाल शिक्षक संगठन सप्तरीका अध्यक्ष सुरेश कुमार यादव, राष्ट्रिय शिक्षक संगठन सप्तरीका अध्यक्ष बैजनाथ यादव, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष नारायण यादव, संघीय शिक्षक फोरमका जिल्ला अध्यक्ष उपेन्द्र कुमार यादव, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष कौशलेन्द्र यादव, अखिल शिक्षक संगठनका अध्यक्ष किशोर कुमार साह र राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष चुनचुन यादवले संयुक्त बिज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
विद्यार्थीको भविष्य कोर्ने एसईईलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्ने आफूहरुको चाहना रहँदारहँदै पनि मधेश प्रदेश सरकारले नियम विपरित परीक्षा संचालन गर्न खोज्नु आफैंमा बदनामी कमाउन खोजेको ठहर उनीहरुले गरेका छन् ।
मधेश प्रदेश सरकारले एसईईको केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट नभए परीक्षा प्रक्रियाबाट मधेश प्रदेश सरकार अलग हुने चेतावनी नै दिएको छ ।
प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयका आधारमा गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए प्रदेश सरकारले एसइई परीक्षा सञ्चालन प्रक्रियामा सामेल नहुने स्थिति आउन सक्ने चेतावनी मुख्यमन्त्री सिंहले दिएका छन् ।
मुख्यमन्त्री सिँहले प्रदेशको शैक्षिक अवस्थामा सुधारका लागि विद्यमान परीक्षा प्रणालीका प्रक्रियाहरूमा सामयिक सुधार ल्याउन केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने सम्बद्ध निकाय तथा अधिकारीहरूलाई निर्देशन दिएको उल्लेख गरेका छन् । सोही अनुसार प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्ने निर्णय गरी कार्यान्वयनका लागि जिल्ला परीक्षा समन्वय समितिलाई पठाइए पनि सो निर्णयविपरीत विभिन्न जिल्लामा साबिकको व्यवस्था बमोजिम सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको प्रदेश सरकार श्रोतले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने परीक्षा केन्द्र निर्धारण गर्ने र केन्द्राध्यक्ष तथा अन्य कर्मचारीको नियुक्ति एवम् परीक्षा सञ्चालन गर्दा जिल्लास्थित जिल्ला परीक्षा समन्वय समितिसँगको समन्वयमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गर्ने व्यवस्था हुँदाहुँदै बोर्डले जारी गरेको जारी गरेको निर्देशिकामा केन्द्राध्यक्षको नियुक्ति परीक्षा केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई जिल्ला परीक्षा समन्वय समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखले गर्ने भन्ने आधारमा कुरा फरक, विरोधाभाषी र अनर्गल भएको बताइएको छ ।
केन्द्राध्यक्ष नियुक्तिलगायतका विषयमा नियमावलीमा स्पष्ट रूपमा सुपरिभाषित, सुनिश्चित र निर्दिष्ट हुँदाहुँदै पनि निर्देशिकामा उल्लिखित प्रावधानका नाउँमा जिल्ला परीक्षा समन्वय समितिका सदस्यसचिव समेत रहने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखका यथास्थितिवादी सोच, स्वार्थप्रेरित शैली र दुराग्रही व्यवहारका कारण त्यस्तो हुने स्थिति आएको मुख्यमन्त्रीको भनाई छ ।
केन्द्र रहने विद्यालयकै प्रधानाध्यापक केन्द्राध्यक्ष रहँदा केन्द्रमा अनियमितता हुने सञ्जाल बाक्लिएको र जरो गाडेको तथ्यपूर्ण विश्लेषण सार्वजनिक भइरहँदा सोही व्यवस्थालाई पुनरावृत्ति गर्न उद्यत शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको मनसुबा पुरा हुन नदिन र परीक्षालाई स्वच्छ तथा मर्यादित बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको जनाइएको विज्ञप्तिमा मुख्यमन्त्री सिँहले परीक्षा प्रणालीमा शक्ति र प्रभावको दुरुपयोग रोक्न गोलाप्रथाबाटै केन्द्राध्यक्ष चयन गर्न सम्बन्धित सबै पक्षको पुनः गम्भीर ध्यानाकृष्ट मुख्यमन्त्रीले यसअघि गराएका छन् ।
गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्त गर्ने विषयमा प्रदेश सरकारका अधिकारीहरू राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको जनाइएको छ । गत फागुन २६ गते जनकपुरधाममा प्रदेश सरकारद्वारा आयोजित माध्यमिक शिक्षा परीक्षा २०८१ सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमबाट प्राप्त सल्लाह सुझाव समेतका आधारमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको सोही दिनको बैठकले निर्देशिकामा तोकिएका प्रक्रियाका अतिरिक्त केन्द्राध्यक्ष नियुक्ति सम्बन्धमा जिल्लामा कार्यरत मावि तहका शिक्षक-प्रअ वा केन्द्र कायम भएका विद्यालयका प्रअमध्येबाट केन्द्राध्यक्षका लागि रोस्टर तयार गरी सो रोस्टरमा रहेका सम्बन्धित केन्द्राध्यक्षलाई निजहरूकै उपस्थितिमा तथा जिल्ला परीक्षा समन्वय समितिको रोहबरमा जेष्ठ शिक्षकबाट क्रमशः केन्द्रका नाउँ उल्लेख भएका गोला तान्न लगाई केन्द्राध्यक्ष तय गर्ने निर्णय गरेको जनाइएको छ ।











