![]()
राजविराज । राजविराज नगरपालिकाका कर्मचारीले अतिआवश्यक बाहेकका कामकाज नगर्ने भएका छन् ।
कर्मचारीमाथि हातपात गर्नेलाई कार्वाही गरि क्षतिपूर्ति उपलब्ध नगराएसम्म आफूहरू काममा नफर्किने उनीहरूले बताएका छन् ।
नेपाल नगरपालिका कर्मचारी एशोशिएसन इकाई समिति राजविराजले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।
विज्ञप्तिमा गत जेठ २७ गते नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको हाजरी विवाद भइरहेको वेला राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादव, राजविराज नगरपालिकाका योजना शाखा प्रमुख मनोज कुमार यादव, आन्दोलनकारी सुधिर यादव, लगायतका व्यक्तिहरुको समूहले राजविराज नगरपालिकाका कर्मचारीहरु शान्तिपूर्वक रुपमा वारुणयन्त्रको छेउमा उभिरहेको वेला पूर्वग्राही तथा सुनियोजित रुपमा यस ईकाइ समितिका अध्यक्ष तथा अधिकृत कल्पना देव, लेखा अधिकृत शत्रुधनलाल दास र शहरी स्वास्थ्य क्लिनिकको अ.हे.व. संतोष कुमार दास माथी संघातिक रुपमा गालीगलौज गर्दै सडकमा घिसारी ज्यान मार्ने धम्की सहित मरनोसन्न हुने गरी कुटपिट गरेको उल्लेख गरिएको छ ।
ती समूहले लेखा अधिकृतले लगाएको सुनको सिक्री समेत लुटपाट गरेको तथा यस कार्यालयमा कार्यरत सब इन्जिनियर रबिन्द्र कुमार यादवलाई डेरामा गई जेठ २२ गते साँझ ५ बजे नियम विपरित कार्य गर्न दवाव दिदै गाली गलौज तथा बेईज्जत गरेकाे विज्ञप्तिमा जनाइएको छ ।
‘संविधानको भावना र मर्मलाई आत्मसात गर्दै सेवामा दिनरात सेवा प्रदान गर्ने कर्मचारीहरुको सेवामा बढ्दै गएको असुरक्षाले कर्मचारीको सेवा प्रवाह कमजोर र कठिन हुँदै गएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाले हामी सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएको र निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्था नभएको महशुस गरेका छौं। सेवामा कर्तव्यनिष्ठ कर्मचारीको मनोवल गिराउने यस किसिमको कार्य प्रति हामी घोर भर्त्सना गर्दछौ।’
घटनाको दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भय रहित वातावरणमा सेवा प्रवाह सुनिश्चितताका लागि विज्ञप्तिमा जोडदार माग गरिएकाे छ ।
दोषि उपर कारवाही तथा क्षतिपुर्ति नभए सम्म यस ईकाइ समितिको निर्णयानसुसार यस नगर कार्यपालिकाको कार्यालय तथा मातहातका कार्यालय वाट अति आवश्यक सेवा वाहेकका सम्पूर्ण सेवा वन्द रहने विज्ञप्तिमा जनाइएको छ ।












