![]()
राजविराज । नेपाली कांग्रेसका नेताहरूले राजविराज नगरपालिकामा भएको ताेडफाेडकाे छानबिन गर्न माग गरेका छन् ।
शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै उनीहरूले प्रहरी प्रशासनको उपस्थितिमा भएको तोडफोड घटनाको छानबिन गर्न माग गरेका हुन् ।
छानबिन गर्दै दोषी व्यक्तिहरूलाई कानून बमोजिम कारबाही गर्न माग गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत पठाइएको ज्ञापनमा राजविराज नगरपालिकामा खर्च नभएको बजेट, बजेटको दुरुपयोग र भ्रष्टाचारबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न, अलपत्र पूर्वाधार विकास योजनाहरू तुरुन्तै सम्पन्न गर्न, स्थानीय प्रशासन, प्रहरी तथा सरोकारवाला निकायलाई यथाशीघ्र जवाफदेही बनाउन र नेपाल सरकारका कर्मचारीबाट भएको दुर्व्यबहार सम्बन्धी घटनाको पनि छानबिन गर्न माग गरिएको छ ।
राजविराज नगरपालिकामा पछिल्लो समय देखिएको अवस्थाले आम जनतालाई अत्यन्त निराश बनाएको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ, ‘ नगरपालिकाले चालू आर्थिक वर्षमा जम्मा १० प्रतिशत मात्र बजेट खर्च गरेको र बाँकी ९० प्रतिशत बजेट खर्च नभएको तथ्यले विकासकार्य कति उपेक्षित भएको छ भन्ने स्पष्ट हुन्छ।’
हाल निलम्बनमा रहेका मेयर र उपमेयर विचको मिलोमतोमा सार्वजनिक रकमको भागबन्डा र व्यापक भ्रष्टाचार भएको व्यापक जनगुनासो रहेको भन्दै यसमा न प्रहरी प्रशासनले कुनै ठोस कारबाही अघि बढाएको छ नत जनताले न्यायको अनुभूति गर्न पाएकाे भनिएको छ ।
राजविराज जस्तो ऐतिहासिक, सांस्कृतिक र राजनीतिक रुपमा महत्वपूर्ण शहरलाई मेयर, उपमेयर र सरोकारवालाहरूले उपयुक्त नेतृत्व दिन नसकेको कुराले नगरबासीहरूमा असन्तोष फैलिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
राजविराज-कञ्चनपुर हुलाकी मार्ग, राजविराज-हनुमाननगर सडक, राजविराज नेता, चोक-सिरहा सडक आदि निर्माण तथा मर्मत नहुनु, बसपार्क संचालन नहुनु, महिला छात्रावास वर्षीदेखि अधुरो हुनु, गजेन्द्र नारायण सिंह अस्पताल निर्माण भए पनि सेवा सञ्चालन नहुनु, रामराजा सिंह शिक्षण अस्पताल सम्बन्धी प्रक्रिया अघि नबढ्नु जस्ता समस्याले जनतामा गहिरो निराशा पैदा गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
संविधान सभा सदस्य एवं नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष रंजित कर्ण, नेप,कांग्रेस, सप्तरीका उपसभापति रामकुमार यादव, राजविराज नगर सभापति आनन्द यादव, पार्टीका जिल्ला प्रवक्ता नन्दकिशोर यादव, जिल्ला सदस्य साबिर आजम, नेता ध्रुव प्रसाद देवले संयुक्तरूपमा ज्ञापन पठाएका हुन् ।












