![]()
राजविराज । शम्भुनाथ नगरपालिकाका युवाहरूले १५ शैया अस्पताल निर्माण कार्यलाई प्राथमिकताको साथ अगाडि बढाई त्यसमा भएको भ्रष्टाचारको बिषयमा छानबिन अगाडि बढाईदिन माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बिहीबार ज्ञापन पत्र बुझाउँदै युवाहरूले यस्तो माग गरेका हुन् ।
अस्पताल निर्माणको काम गरिरहेका कम्पनीसँग प्रमूख प्रशासकीय अधिकृत हरिमोहन सुतिहार र कार्यवाहक नगर प्रमुख अनिता चौधरीको सल्लाहकार अनिल कुमार भगतले आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा २०८२ जेठ २ गते विशेष नगरसभा गरी बिभिन्न शीर्षकमा विनियोजन गरिएको बजेट रकमान्तर गरी एक करोड पच्चिस लाख रकम विनियोजन गरी लेखापाललाई डराई धम्क्याई रातारात सूत्र प्रणालीमा बजेट प्रविष्ट गराई अत्यन्त छोटो समयमा भुक्तानी दिएकाे ज्ञापनपत्रमा उल्लेख गरिएको छ । भुक्तानी गरी ठेकेदार दीपक कार्कीबाट रू २५ लाख कमिसन लिई एकआपसमा बाँटफाँट गरेको भन्दै उक्त बिषयमा छानबिन गरी कार्वाहीको प्रक्रिया अगाडि बढाउन ज्ञापनपत्रमा माग गरिएको छ ।
यस्तै, नगरपालिकामा योजना बेच्न र कमिसन उठाउन राखिएको कर्मचारी र सल्लाहकारको विषयमा छानबिन गर्न, कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरीले व्यक्तिगत पोखरी खन्न नगरपालिकाको जेसिबी र इन्धन दुरूपयोग गरेर व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेको हुनाले राजस्व हिनामिना भएको हुँदा छानविन गरि कार्वाहीको प्रक्रिया अगाडि बढाउन, वडा कार्यालयहरुले सार्वजनिक पोखरी ठेक्कामा गरेको राजस्व चुहावट बारे छानविन गरी राजस्व चुहावट गर्ने जनप्रतिनिधीहरुलाई कार्वाही गर्न माग गरिएको छ ।












