![]()
राजविराज । लागूऔषध गाँजा मुद्दामा पछिल्लो पटक पक्राउ परेका बुधन भनिने जोगानन्द मण्डलबिरुद्ध यसअघि ७ वटा मुद्दा दर्ता रहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीले जानकारी गराए अनुसार आर्थिक बर्ष २०६५-६६ देखि २०८०-८१ सम्म ७ वटा मुद्दा दर्ता रहेको पाइएको हो ।
उनीबिरुद्ध केहि सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, हातहतियार तथा औजार, लागूऔषध गाँजा, हातहतियार खरखजाना र लागूऔषध ब्राउन सुगर मुद्दा दर्ता भएको पाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
आ.ब. २०६५-६६ मा मण्डलबिरुद्ध इलाका प्रहरी कार्यालय कंचनपुरमा केही सार्वजनिक अपराध, आ.ब. २०६८-६९ मा ज्यान मार्ने उद्योग, जिल्ला प्रहरी कार्यालयमा आ.ब. २०६७-६८ मा हातहतियार तथा औजार मुद्दा दर्ता भएको पाइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार यी तीन वटा मुद्दामा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट भएको फैसलाबारे बुझने कार्य भइरहेको छ ।
यस्तै, मण्डलबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा आ.ब. २०७१-७२ मा लागूऔषध मुद्दा दर्ता भएको थियो । यो मुद्दामा २ बर्ष कैद र रु १५ हजार जरिवाना अदालतले तोकेको छ ।
आ.ब. २०७७-७८ मा इलाका प्रहरी कार्यालय कंचनपुरमा मण्डलबिरुद्ध लागूऔषध गाँजा मुद्दा दर्ता भएको थियो । यो मुद्दामा जिल्ला अदालतले २ बर्ष कैद गर्नुपर्नेमा २ महिना २८ दिन थुनामा बसेको दिन कट्टा गरी १ बर्ष ९ महिना २ दिन कैद र रु १५ हजार जरिवाना हुने गरी फैसला भएको प्रहरीले जनाएको छ ।
आ.ब. २०७८-७९ मा उनीबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा हातहतियार खरखजाना मुद्दा दर्ता भएको थियो । डीएसपी बस्नेतका अनुसार यो मुद्दामा भएको फैसलाबिरुद्ध बुझ्ने काम भइरहेको छ ।
मण्डलबिरुद्ध आ.ब. २०८०-८१ मा इलाका प्रहरी कार्यालय कंचनपुरमा लागूऔषध ब्राउन सुगर मुद्दा दर्ता भएको थियो । यो मुद्दामा रु १० हजार जरिवाना र रु ४ हजार क्षतिपूर्ती तिर्नुपर्ने फैसला जिल्ला अदालतले गरेको थियो ।
यसअघि ७ मुद्दामा परेका मण्डललाई सप्तरी प्रहरीले गत १ असारमा लागूऔषध गाँजा मुद्दामा पक्राउ गरेको छ ।
झण्डै अढाई बर्षअघि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट बरामद भएको ८१० किलो लागूऔषध गाँजा कसुरमा उनी पक्राउ परेका हुन् ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ बस्ने मण्डललाई १ असारको राति इलाका प्रहरी कार्यालय भारदह अगाडिबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
१४ पुस २०७९ मा कोशी व्यारेजको गोल घरदेखि अन्दाजी ५०० मिटर उत्तर पूर्व कोशी भंगालोको पूर्व टापुको एकान्त ठाउँमा बालुवाभित्र गाँजा भेटिएको थियो । बालुवामा खाल्डो खनी २७ वटा बोरामा राखिएको ८१० किलो गाँजा प्रहरीले बरामद गरेको थियो ।
भेटिएको गाँजाको अनुसन्धानका क्रममा मण्डललाई पक्राउ गरिएको हो ।












