![]()
राजविराज । नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले जग्गा संरक्षणका लागि कार्य गरिरहेको बेला हुलहुज्जत र पत्रकारमाथि भएको आक्रमणको अध्ययन गर्न मिसन टोली गठन भएको छ ।
महासंघको केन्द्रीय कार्यालयले केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू राजेशकुमार कर्ण र राजु विश्वकर्मा सदस्य रहेको मिसन टोली गठन गरेको हो ।
नेपाल पत्रकार महासंघको केन्द्रीय मिसनले सबै पक्षसंग छलफल र परामर्श गरि यथाशीघ्र प्रतिवेदन पेस गर्ने महासचिव रामप्रसाद दाहालले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । ‘सोही प्रतिवेदनका आधारमा महासंघले आवश्यक कदम चाल्नेछ’ विज्ञप्तिमा भनिएको छ ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले कार्यालय भवन निर्माणका लागि कानुनी प्रक्रिया पूरा गरी लिएको जनकपुरधामको जग्गा संरक्षणका लागि कार्य गरिरहेको बेला उक्त जग्गा कब्जा गर्ने प्रयास स्वरूप गरिएको हुलहुज्जत र पत्रकारमाथि भएको आक्रमणको अध्ययन गरी प्रतिवेदन पेस गर्न मिसन टोली गठन गरेको हाे ।
मंगलबार जग्गा संरक्षण गर्न घेराबार गरिरहेका बेला धनुषा जिल्ला बारका अध्यक्ष विमल मिश्र नेतृत्वको समुहले महासंघ प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर राय, विनिता यादव लगायतलाई आक्रमण समेत गरेको थियो ।












