![]()
राजविराज । सामूहिक बलात्कारको शिकार भएकी सप्तरीकी एक महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ ।
इन्सेकको मधेश प्रदेश कार्यालय, जनकपुरधामले सुरुङ्गा नगरपालिका–९, टिकुलियाकी ती महिलालाई मंगलबार आर्थिक सहयोग उपलब्ध गराएको हो ।
२५ वर्षीया महिलालाई उपचार तथा कानुनी प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले रु १० हजार नगद सहयोग गरिएको इन्सेक सप्तरीका प्रतिनिधी नवीन कुमार यादवले जानकारी दिए ।
गत कात्तिक ४ गते बुधबार राति करिब ९ः३० बजे स्थानीय मदरसा नजिकैको आँपको बगैँचामा सामूहिक बलात्कारको शिकार भएकी महिलाले कात्तिक ५ गते इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दर्ताका लागि निवेदन दिएकी छन् ।
घटनापछि पीडितको स्वास्थ्य परीक्षण कात्तिक ५ गते नै लहानस्थित प्रादेशिक अस्पतालमा गरिएको छ ।
इन्सेक प्रतिनिधी यादवका अनुसार महिलाको आर्थिक अवस्था कमजोर रहेको र उपचार तथा कानुनी प्रक्रियामा अगाडि बढ्न कठिनाइ भइरहेकाले आर्थिक सहयोग उपलब्ध गराइएको हो ।







