![]()
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरहीकी शान्ति देवी राम अहिले निक्कै खुशी देखिन्छिन् । खुशीको कारण के हो भने उनी अहिले स्नान घरमा नुहाउन पाइरहेकी छन् ।
शुरुमा आँगनमा रहेको कलमा नुहाउँदा उनलाई लज्जाबोध हुन्थ्यो । तर, आँगनमै निर्माण गरिएको स्नान घरमा नुहाउँदा उनलाई कुनै समस्या भइरहेको छैन् । ‘अब निर्धक्क भएर नुहाइरहेकी छु’ उनले भनिन् ।
स्नान घर मात्रै होइन, उनको घरमा नयाँ शैचालय पनि निर्माण भएको छ । पहिला एकाबिहानै खेततिर शौच गर्न जानुपर्थ्यो उनको परिवारलाई । अहिले घरका सबै सदस्य शौचालयमा शौच गरिरहेका छन् ।
यति मात्रै होइन, उनको परिवारले अहिले शुद्ध पानी पिउन थालेका छन् । पहिला गाडिएको कलबाट अत्यधिक आइरनयुक्त पानी निस्किरहेको थियो’ शान्तिदेवीले भनिन्, ‘अहिले शुद्ध पानी पिउँदा आनन्द आइरहेको छ ।’
पहिला सय फिटभन्दा मुनीमा कल गाड्ने गरिन्थ्यो । जसका कारण पानीमा अत्यधिक आइरन निस्किने गरिन्थ्यो । अब १८० फिटमा कल गाडिदिएर बायोसेन्ट फिल्टर समेत दिएका कारण उनीहरु शुद्ध पानी पिउन थालेका हुन् ।
छिन्नमस्ता गाउँपालिकाको एक परिवार र एक वडा मात्रै होइन, सबै वडाका दलित र विपन्न लक्षित गरेर यो काम अगाडि बढाइएको छ ।
ह्याबिटयाट फर हयुमिनिटीको सहयोगमा सेभ द सप्तरीद्वारा यो गाउँपालिकामा खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम लागू भएको छ ।
यो कार्यक्रम अन्तर्गत पालिकाभित्रका दलित र विपन्न परिवारलाई शौचालय, स्नान घर र शुद्ध खानेपानीको व्यवस्था गरिएको छ ।
परियोजना संयोजक मिथिलेश यादवका अनुसार आगामी सन् २०२७ सम्म रहने परियोजना अन्तर्गत करिब ४०० परिवारको घरमा शौचालय, स्नान घर र बायोसेन्ट फिल्टर जडान गर्ने लक्ष्य छ ।
यस अन्तर्गत अहिलेसम्म २२० घरधुरीमा सम्पन्न गरिएको छ ।
परियोजना अन्तर्गत समुदाय, वडा, पालिकास्तरीय सरसफाई सम्बन्धी समितिहरु गठन गर्ने, सरसफाईका औजारहरु वितरण गर्ने कार्य हुँदै आएको संयोजक यादवले बताए ।






