![]()
राजविराज । अब हुने स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड् दिइएको छ ।
गैरदलीय स्थानीय निर्वाचन अभियानले बिहीबार राजविराजमा आयोजना गरेको कार्यक्रममा बक्ताहरुले यस्तो जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउनु जरुरी रहेको बताए ।
‘धेरै योग्यता, क्षमताको हिसाबले धेरै मानिसहरुले टिकट पाउँदैनन, विद्रोह हुन्छ’ उनले भने, ‘दलीय चुनावले विभिन्न विकृति, विसंगतिहरु हुन्छ ।’
उनले राजनीतिक र सरकारी प्रणालीलाई करेक्सन गर्नका लागि निर्दलीय चुनाव हुनुपर्ने बताए ।
स्थानीय तहलाई दलबिहीन अवस्थामा राख्नु राम्रो हुने भन्दै उनले यस विषयलाई राष्ट्रिय मुद्दा बनाउनुपर्ने बताए ।
यसबारेमा सबै राजनीतिक दल, सरकार सबैलाई ज्ञापन बुझाउनु जरुरी रहेको उनले बताए ।
यस्तो व्यवस्था गर्न संविधानलाई छुनै नपर्ने उनले बताए । ‘ऐन कानुनलाई मात्रै छोए यो हुन सक्छ’ उनले भने ।
मधेश प्रदेशका पूर्व सांसल विदेश्वर यादव ‘विक्की’ ले सत्तारुढ रास्वपाले आफ्नो घोषणा पत्रमा नै स्थानीय चुनावलाई गैरदलीय बनाउने जनाएको स्मरण गराइ । उनले दुई तिहाई मत पाएको यो पार्टीले गरेको आफ्नो वाचा पूरा गर्नुपर्ने बताए ।
‘मौलिक हक अधिकार अन्तर्गतका सिफारिसहरु स्थानीय तहलाई दिइएको छ’ उनले भने, ‘जितेका व्यक्तिले मत नदिएको जानकारी पाएपछि एउटा सिफारिस गराउनका लागि पनि व्यक्तिलाई दुःख दिने गरेको उदाहरणहरु भेटिन्छ ।’
दलीय निर्वाचनमा राम्रो मान्छेले दलीय व्यवस्थामा मौका नै नपाउने गरेको उनले बताए ।
स्वतन्त्र व्यक्ति जिते विकास धेरै राम्रो हुने उनको विश्वास छ ।
मधेशवादी नेता विकास तिबारीले स्थानीय तहको निर्वाचन दलीय हु्नैपर्छ भनेर संविधानमा नलेखिएको बताए ।
‘संविधानको धारा २१५ र २१६ मा गाउँपालिका/नगरपालिका गठनको विषयमा लेखिएको छ’ उनले भने, ‘त्यहाँ कहाँ लेखिएको छ दलीय चुनाव हुनुपर्छ ?’
उनले दलीय निर्वाचन असंवैधानिक कुरा भएको भन्दै यसविरुद्ध सर्वोच्चमा रिट दायर भए आफैं हट्ने बताए ।
राष्ट्रिय मुक्ति पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरीले गैर दलीय निर्वाचन हुनुपर्ने बताए ।
‘दलीय निर्वाचनमा थर्ड क्लास मान्छेका लागि पनि मत माग्नुपर्छ । गैरदलीय निर्वाचन भए धेरै विकृतिको अन्त्य हुन्छ’ उनले भने ।
जसपा नेतृ रमिला साहले गैरदलीय निर्वाचनबाट निष्पक्ष नेतृत्व आउने बताइन् ।
अभियानका संयोजक रामरिझन यादवको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादव, नेता अशोक यादवसहितका व्यक्तिहरुले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको विषयमा अभियानका सदस्य सुरेश मण्डलले जानकारी गराएका थिए ।







