![]()
राजविराज । गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका सप्तरीका व्यक्तिहरुको विवरण माथिल्लो निकायमा पठाइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले भोटेकोशी बाढीमा बेपत्ता रहेका ५२ जनाको नाम माथिल्लो निकायमा पठाउने निर्णय गरेको हो ।
जिल्लास्थित पालिकाहरुबाट प्राप्त बेपत्ता व्यक्तिको आधिकारिक विवरणको सन्दर्भमा प्राप्त प्रमाण तथा कागजातका आधारमा बेपत्ता व्यक्तिहरुको विवरण यकीन गरिएको विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
उनका अनुसार सप्तरीका ५२ जना बेपत्ता भएका व्यक्तिको नाम राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा मधेश प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयमा पठाइएको छ ।
भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकीन गर्ने प्रकृया, २०८३ र नेपाल रापत्रमा प्रकाशित विपद् सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश बमोजिम जिल्लास्थित सम्पूर्ण नगरपालिका/गाउँपालिकालाई तोकिएको प्रकृया पूरा गरी बेपत्ता व्यक्तिको विवरण यकीन गरिएको थापाले बताए ।
को–को भए बेपत्ता ?
सबैभन्दा बढी शम्भुनाथ नगरपालिकाका ९ जना बेपत्ता भएका छन् । यो नगरपालिकाबाट सुरेन्द्रदेव चौधरी, दिपेन्द्र चौधरी, हृदयनारायण चौधरी, रमेश कुमार चौधरी, त्रिभुवन मण्डल, प्रेम सागर चौधरी, पिताम्बर प्रसाद दास, ओमप्रकाश चौधरी र साजन चौधरी बेपत्ता भएका छन् ।
यस्तै, खडक नगरपालिकाबाट सुरज मण्डल, राज पासवान, हेमनारायण साह, शिबु कुमार पासवान, अनिल कुमार चौधरी, गीता कुमारी राम, सन्तोष चौधरी र प्रवेश कुमार चौधरी बेपत्ता छन् ।
सुरुङा नगरपालिकाबाट सरोज चौधरी, गीता कुमारी दास तथा दिवान्स कुमार राम, राजविराज नगरपालिकाबाट रामलखन राम, रामदेव रिखियासन, बिन्दा मुसहर र शश्चिर सदा, तिलाठी कोइलाडी गाउँपालिकाबाट अभिषेक सिंह, दिलिप कुमार मण्डल, मनिष कुमार मण्डल, राजमणी साह हलुवाई बेपता भएका छन् ।
अग्निसाइर कृष्णसवरन गाउँपालिकाबाट अनिल कुमार विश्वकर्मा र ललित कुमार चौधरी, बिष्णुपुर गाउँपालिकाबाट इन्जिनियर अजय कुमार यादव र ओमनारायण यादव, महादेवा गाउँपालिकाबाट सन्तोष कुमार यादव, इन्द्रनारायण इसर र देबकुमार इसर, राजगढ गाउँपालिकाबाट राजीबकुमार सिंह र विजय कुमार यादव, तिरहुत गाउँपालिकाबाट अशोक यादव र भीमनारायण यादव भोटेकोशी बाढीमा बेपत्ता भएका छन् ।
त्यस्तै, डाक्नेश्वरी नगरपालिकाका नितिश कुमार पासवान, अकलेश कुमार पासवान र अभिनाश कुमार पण्डित, कञ्चनरुप नगरपालिकाबाट मुकेश कुमार सदा, बिनोद कुमार सदा, अमरकान्त चौधरी, नवीन श्रेष्ठ र बिनोद कुमार सदा, सप्तकोशी नगरपालिकाबाट देबानन्द चौधरी, बोदे बर्साइन नगरपालिकाबाट देबकुमार यादव, शिबकुमार यादव र सचित कुमार यादव र बन्दे यादव बेपत्ता भएका छन् ।








