मधेश सम्वाददाता
राजविराज, १५ कात्तिक ।
सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या सम्बन्धमा छानबिन गर्न बनेको सशस्त्र प्रहरीको समितिले तत्कालिन सप्तरीका सशस्त्र एसपी प्रदीप खडकालाई विकागीय कार्वाही गर्न भनेको छ ।
सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असइ) सत्यनारायण यादवको हत्याको घटनामा एसपी प्रदीप खड्कामाथि विभागीय कारबाहीको सिफारिस भएको छ ।
घट्नाको छानबिनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा गठन भएको समितिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा एसपी खडकालाई विभागीय कार्वाही गर्न सिफारिस गरिएको छ ।
एसपी खडकाको कमजोर कमान्ड कन्ट्रोलका कारण घटना भएको छानबिन समितिले निष्कर्ष निकाल्दै विभागीय कार्वाहीका लागि सिफारिस गरेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।
सशस्त्र प्रहरीका असई यादवको शव फेला परेको एक साता नबित्दै एसपी खडकालाई सशस्त्र प्रहरीले हेडक्वाटरमा तानेको थियो ।
असई यादव गत २० असोजमा भारतीय क्षेत्रमा मृत फेला परेका थिए । सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत असई यादव भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा बिहीबार मृत भेटिएका थिए ।
सोही ठाउँमा कार्यरत सशस्त्र प्रहरीका जवान होमबहादुर खत्रीले उनको हत्या गरेको अनुसन्धानमा खुलेको छ । नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिइसकेको छ ।
सई मगर निलम्बित
सोही घट्नामा सशस्त्र प्रहरीका एक जना प्रहरी नायव निरीक्षक (सई) निलम्बित भएका छन् । तत्कालिन छिन्नमस्ता बिओपीका इन्चार्ज रहेका सई कृष्णबहादुर मगरलाई निलम्बन गरिएको छ ।
हत्या भएका असई यादवको घटनाको प्रारम्भि छानबिनमा विभागीय नीति तथा आदेश विपरीत काम गरेको आरोप लगाइएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत गोविन्द सुवेदी पनि निलम्बनमा परेका छन् ।
सुवेदीमाथि सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पु¥याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेको आरोप छ ।
४ कात्तिकमा सुवेदीको नेतृत्वको टोली चढेको सशस्त्रको ट्रक बाणगंगा नगरपालिकाको सिउटीमा दुर्घटना भएको थियो । जसमा तीन जना सशस्त्र र एक जना सर्वसाधारणको मृत्यु भएको थियो भने सुवेदीसहित तीन जना घाइते भएका थिए ।