मधेश सम्वाददाता
जनकपुरधाम, २६ बैशाख ।
धनुषामा राप्रपाका उम्मेदवारमाथि एमालेका कार्यकर्ताले कुटपिट गरेका छन् ।
जिल्लाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ ।
सोमबार राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवारलाई एमालेका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवारसहित परिवारमाथि नै आक्रमण गरेको उल्लेख गरेका छन् ।
मियाको परिवारका सात जना सदस्यमाथि एमालेले आक्रमण गरेको राप्रपाको दाबी छ ।
प्रवक्ता श्रेष्ठले यस घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न माग गरेका छन् ।