राजविराज । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै स्थानीय तहको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार सप्तरीका सबै पालिकाको स्थिति कमजोर देखिएको छ ।
आयोगले बिभिन्न १७ वटा सूचक राखेर पालिकाको कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ ।
पालिकाले असार १० भित्र नगरसभा गरे÷नगरेको, राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभाबाट असारभित्र पेश गरे÷नगरेको, आयव्यय प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको, बजेट कार्यान्वयनको बार्षिक समिक्षा गरी तत् सम्बन्धी विवरण २०७९ कात्तिकभित्र सार्वजनिक गरे÷नगरेको सूचकको आधारमा कार्यसम्पादन विवरण तयार गर्ने गर्दछ ।
यस्तै, विनियोजित रकम अनुसार खर्चको अवस्था, लेखापरीक्षण्बाट औंल्यएको बेरुजुको अवस्था, स्थानीय संचित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे÷नगरेको, आवधिक योजना तर्जुमा गरे÷नगरेको, शैक्षिक सत्र २०८० मा कक्षा १ देखि ८ सम्मको खुद विद्यार्थी भर्ना दर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कुल विद्यार्थी संख्याको तुलनामा कम्तीमा स्तरीकृत अंक (जिपिए) १ दशमलव ६ वा सोभन्दा उच्च जिपिए प्राप्त गरेको विद्यार्थी प्रतिशतलाई कार्य सम्पादनको सूचक बनाएको छ ।
त्यस्तै स्वास्थ्यतर्फ २०७९÷८० मा ४ पटक गर्भ जाँच गर्ने महिलाको अनुपात, गर्भवती हुने महिलाको संख्यामध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात र पूर्ण खोप पाएका बालबालिकाको अनुपातलाई कार्यसम्पादनको सूचकमा राखिएको छ ।
यो सूचकको आधारमा तपार पारिएको प्रतिवेदन अनुसार सप्तरीका सबै पालिका कमजोर देखिएका छन् । यद्यपी गत बर्षभन्दा सुधार देखिएको छ ।
कसैको सुधार, कसैको खस्कियो
सदरमुकाम राजविराज नगरपालिकाले कुल १६ सूचकमध्ये ९ सूचकमा गत बर्ष कुनै अंक नै पाएको थिएन् । आयोगको प्रतिवेदन अनुसार राजविराज नगरपालिका १० दशमलव ७४ प्रतिशत अंक मात्रै प्राप्त गरेको थियो । यस पटक यो नगरपालिकाले ३६दशमलव ९ प्रतिशत अंक प्राप्त गरेको छ ।
गत बर्ष सप्तरीमा सबैभन्दा बढी सुरुङा नगरपालिकाले अंक पाएको थियो । यो नगरपालिकाले ४२ दशमलव ०२ प्रतिशत अंक गत बर्ष पाउँदा सप्तकोशी नगरपालिकाले ३४ दशमलव ८४ प्रतिशत अंक पाएको थियो । यस पटक सुरुङा गत बर्षभन्दा खस्किँदा सप्तकोशीले सुधार गरेको छ । सुरुङाले यस पटक ४९ दशमलव ५ प्रतिशत अंक पाउँदा सुधार गर्दै सप्तकोशीले ४२ दशमलव २ प्रतिशत अंक पाउन सफल भएको छ ।
गत बर्ष हनुमाननगर कंकालिनी नगरपालिका २७ दशमलव ६२ प्रतिशत, कंचनरुप नगरपालिका २५ दशमलव ५९ प्रतिशत, बोदे बर्साइन नगरपालिका २३ दशमलव ९० प्रतिशत, खडक नगरपालिका २२ दशमलव ६ प्रतिशत, डाक्नेश्वरी नगरपालिका २१ दशमलव ३० प्रतिशत र शम्भुनाथ नगरपालिकाले १८ दशमलव ७२ प्रतिशत अंक पाएको थियो ।
यस पटक हनुमाननगर कंकालिनीले थप सुुधार गर्दै ४७ दशमलव १ प्रतिशत अंक पाएको छ । कंचनरुपले पनि सुधार गर्दै ४७ दशमलव ३ प्रतिशत, खडक नगरपालिका ४६ दशमलव ३ प्रतिशत, शम्भुनाथ नगरपालिका ३७ दशमलव ९ प्रतिशत, डाक्नेश्वरी नगरपालिका २९ दशमलव ८ प्रतिशत अंक पाएको छ ।
नगरपालिकातर्फ बोदे बर्साइन नगरपालिकाले सूचकहरुमा सुधार गर्दै सप्तरीकै नगरपालिकामा सबैभन्दा बढी ५१ दशमलव ८ प्रतिशत अंक पाएको छ ।
गाउँपालिकातर्फ तिलाठी कोइलाडी गत बर्ष सबैभन्दा बढी अंक पाउँदा यस पटक सबैभन्दा तल खस्किएको छ । यो पालिकाले गत बर्षको भन्दा सुधार गरेको भएपनि यस पटक तल खस्किएको छ । गत बर्ष २६ दशमलव ८१ प्रतिशत अंक पाउँदा यस पटक २९ प्रतिशत अंक यो पालिकाले पाएको छ ।
अग्निसाइर कृष्णसवरण गाउँपालिका गत बर्षभन्दा सुधार गरेको छ । गत बर्ष २५ दशमलव १९ प्रतिशत अंक पाएको यो पालिकाले यस पटक ४७ दशमलव ९ प्रतिशत अंक प्राप्त गरेको छ ।
रुपनी गाउँपालिकाले पनि गत बर्षभन्दा सुधार गरेको देखिएको छ । यो पालिकाले गत बर्ष २३ दशमलव ६० प्रतिशत अंक ल्याउँदा यसपटक ३२ दशमलव ३ प्रतिशत अंक प्राप्त गर्न सफल भएको छ ।
सुधार गर्नेमा अन्य गाउँपालिका पनि छन् । गत बर्ष २० दशमलव ७५ प्रतिशत अंक पाएको यो पालिका यस पटक ४१ दशमलव ८ प्रतिशत, तिरहुत गाउँपालिका गत बर्ष २० दशमलव ०८ प्रतिशत पाउँदा यस पटक ३७ दशमलव ६ प्रतिशत, छिन्नमस्ता गाउँपालिका गत बर्ष १५ दशमलव ७७ प्रतिशत अंक पाउँदा यस पटक ३२ प्रतिशत, महादेवा गाउँपालिका गत बर्ष १५ दशमलव ४५ प्रतिशत अंक पाउँदा यस पटक ४६ दशमलव १ प्रतिशत, राजगढ गाउँपालिका गत बर्ष १५ अंक पाउँदा यस पटक ४६ अंक पाएका छन् ।
यस पटक गाउँपालिकातर्फ बलान बिहुलले उत्कृष्ट सुधार गर्दै सप्तरीको पालिकातर्फ पहिलो भएको छ । गत बर्ष २३ दशमलव ८९ प्रतिशत अंक पाएको यो पालिका यस पटक ५५ दशमलव ९ प्रतिशत अंक प्राप्त गरेको छ ।