![]()
राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीले जनमत पार्टी का अध्यक्ष डा सिके राउतको सचिवालय फेसबुक पेज मार्फत सप्तरी तथा मधेशका पत्रकारलाई लक्षित गरी गरिएको पोष्ट्प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ, सप्तरीले आईतबार बिज्ञप्ती जारी गर्दै फाल्गुन ८ गते बिहीबार जनमतको सचिवालय पेजबाट ‘सप्तरीमा कुनै पनि रिपोर्टिङ गर्दा अन्य जिल्ला वा पहाड तिरको पत्रकार ल्याई निष्पक्ष रिपोर्टिङ गर्नु’ भन्ने शब्द सहित लेखिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ ।
जनमत पार्टीले ८ माघ २०८० मा मधेश कृषि विश्वविद्यालय शिलान्यासका क्रममा उत्पन्न विवाद र झडपबारे समाचार नलेखेको भन्नु सरासर गलत भएको भन्दै सचिव खगेन्द्र कार्कीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘त्यसबेलाका पत्रपत्रिका, अनलाइन, टेलिभिजन अहिले पनि हेर्दा त्यस सम्बन्धी धेरै समाचार आएको हामी हेर्न सक्छौ ।’
गौरवमय इतिहास बोकेको सप्तरीको पत्रकारिता अझै आफ्नो पेशाप्रति इमान्दार रहेको भन्दै बिज्ञप्तीमा यहाँका पत्रकार हरेक दल, जाति, धर्मसहित प्रत्येक क्षेत्रमा कलम चलाउँदै आएको कसैसँग नलुकेको भनिएको छ ।
जनमत पार्टीको यस किसिमको अभिव्यक्ति सप्तरीको समग्र पत्रकारिता क्षेत्र लाइ बदनाम गर्ने खालको रहेको र सप्तरीका समग्र पत्रकारको मान सम्मानमा ठेस पुर्याउने उदेश्यले लेखिएको शव्दप्रति घोर भत्र्सना गरिएको छ । ‘उक्त अभिव्यक्ति फिर्ता लिन आग्रहसहित भविष्यमा यस प्रकारको पत्रकारबिरुद्धका अभिव्यक्तिहरु सामाजिक संजाल वा अन्य कुनै माध्यममा प्रयोग नगर्न सचेत समेत गराउँदछौं’ बिज्ञप्तीमा भनिएको छ ।












