![]()
राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँबाट लागूऔषध गाँजा बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको टाेलीले कंचनरूप नगरपालिका र तिरहुत गाउँपालिकाबाट ती गाँजा बरामद गरेकाे । दुबै ठाउँबाट अटाेमा लाेड गरिएको अवस्थामा गाँजा बरामद गर्दै एक जनालाई पक्राउ समेत गरिएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका वडा नं. २ बरमझियाबाट अटोमा लैजाँदै गरेको ७८ किलो ७६ ग्राम गाँजा बरामद भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ ह १७१६ नम्बरकाे अटोमा कालो सुटकेस र राताे झाेलामा राखिएको अवस्थामा गाँजा भेटिएको हाे । अटाेमाथि शंका लागि रोक्न खोज्दा अटो चालक तत्काल भागेकाे र उनको खाेजी गरिरहेकाे प्रहरीले जनाएको छ ।
यस्तै, तिरहुत गाउँपालिकाबाट लागूऔषध गाँजासहित एक अटाे चालक पक्राउ परेका छन् ।
गाउँपालिकाकाे वडा नं. २ बडहरा स्थित हुलाकी सडक खण्डबाट प्रहरीले अटोबाटै गाँजा बरामद गर्दै चालकलाई पक्राउ गरेको हो ।
फत्तेपुरबाट डिमनतर्फ जाँदै गरेको प्र१-०२-००३ ह २९३४ नं. अटो माथि शंका लागि अटो चेक जाँच गर्दा अटो भित्र सेतो पलास्टिकको २ वटा पोका र सेता बोरा भित्र जम्मा ५८ के.जी लागु औषध गाँजा बरामद भएको डीएसपी काफ्लेले जानकारी दिए ।
अटो र अटो चलाक उदयपुरकाे बेलका नपा ३ बस्ने ४१ बर्षका जयराम दाहाललाई नियन्त्रणमा लिई अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












