राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले महायज्ञले बढ्दो धर्म परिवर्तनलाई रोक्ने विश्वास व्यक्त गरेका छन् ।
सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्र नारायण सिह औद्योगिक क्षेत्रमा आईतबारदेखि शुरु भएको श्री सीताराम नाम १००८ मण्डलीय संकिर्तन एवं श्री रामचरित्र मानस नौ दिवसीय महायज्ञलाई उद्घाटन गर्दै मुख्यमन्त्रीले यस्तो बताएका हुन् ।
बर्तमान समयमा धर्म परिवर्तन भइरहेको उल्लेख गर्दै यसलाई रोक्न यो महायज्ञ कोशे ढुँगा सावित हुने विश्वास उनको छ ।
यसबाहेक युवाहरु लागूऔषधको कुलतमा फँसेको बताउँदै उनले सबै युवालाई यसमा सहभागी भई लागूऔषधको कुलतबाट मुक्त हुन सुझाव दिए ।
विश्व शान्ति, एकता, अखण्डता एवं सुदृढ नेपालका लागि जगत जननी जानकी माताको जन्मोत्सवको अवसर पारेर तथा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग कलकारखाना संचालनमा ल्याउने उद्देश्यका साथ नेपालमै दोस्रो पटक यो यज्ञ शुरु गरिएको श्री श्री १००८ श्री जगत नन्दन दास जी महाराज (पगला बाबा) ले जानकारी दिए ।
महायज्ञमा एक हजार आठ मण्डपमा कीर्तन मण्डली, हनुमान आराधना मण्डली, वृन्दावनको रासलीला, रामलीला, रामचरित्र मानस पाठ, उच्चकोटी विद्वानद्वारा प्रवचन तथा विशाल भण्डारा समेतको व्यवस्थापन गरिएको छ ।
महायज्ञलाई सफल बनाउन रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले सबैसँग आग्रह गरेका छन् ।
यज्ञका अगुवा पगला बाबाका अनुसार २०५६ सालमा धनुषामा पहिलोपटक यस्तो महायज्ञ भएको थियोे । दोस्रो पटक सप्तरीमै भइरहेको उनले बताए ।
महायज्ञ शुरु हुनुभन्दा अघि बिहान भव्य कलश यात्रा निकालिएको थियो ।