![]()
राजविराज । जानकी नवमीको अवसरमा राजविराजमा कुमारी कन्या पूजन कार्यक्रमको आयोजना गरिएको छ ।
स्थानीय भगवती मन्दिर प्राङ्गणमा विश्व हिन्दु परिषद् नेपाल सप्तरीद्वारा यो कार्यक्रमको आयोजना गरिएको हो ।
५१ जना कुमारी कन्याको पूजा गर्दै भोजन गराइएको परिषद्का जंगबहादुर सिंहले जानकारी दिए । उनका अनुसार कुमारीहरूको पूजन गरी चुनरी, फूलमाला, कुमकुम टिका लगाएर भोजन उपरान्त दक्षिणामा काँपी, डटपेन प्रदान गरिएको थियो ।
प्राइम होली क्रस एकेडेमीका ३५ बालिका र गौतम शिशु सदनका १६ बालिकालाई सीता माताको रूपमा प्रस्तुत गर्दै पूजा गरिएको उनले बताए ।
सिंहले मधेश प्रदेशको अन्य जिल्लामा पनि परिषद्द्वारा कुमारी कन्या पूजन सम्पन्न भएको जानकारी दिए । महोत्तरीको बर्दिवासमा २५ जना, धनुषामा २८५ जना र सिरहामा ११ जना कुमारी कन्याको पूजा सम्पन्न भएको उनले बताए ।












