राजविराज । सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझियामा आयोजना गरिएको स्पेसल टास्क फोर्स (एसटिएफ) को तालिम समापन भएको छ ।
सप्तरीको कंचनरुप नगरपालिका–२ स्थित उक्त शिक्षालयमा बुधबार आयोजित समारोहकाबीच तालिम समापन भएको हो ।
यसअघि स्पेशल टास्क फोर्स तालिम काठमाडौं उपत्यकामा मात्रै आयोजना हुँदै आएकोमा पहिलो पटक यहाँ आयोजना गरिएको सशस्त्र प्रहरी बलका मानव श्रोत विभाग प्रमुख अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले जानकारी दिए ।
तालिममा सहभागी भएका प्रशिक्षार्थीलाई ट्याग लगाइदिदैं दाहालले प्रमाण पत्र वितरण गरे ।
सशस्त्र प्रहरी नायव उपरीक्षक ओमराज बानियासहित २३ जनाले स्पेसल टास्क फोर्सको तालिम दिएका थिए । यी प्रशिक्षकलाई पनि अतिरिक्त महानिरीक्षक दाहालले प्रशंसा पत्र प्रदान गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अतिरिक्त महानिरीक्षक दाहालले सुरक्षा प्रणालीलाई मजबुत बनाउन यो तालिमको आयोजना गरिएको बताए ।
आजको यो तालिम विशेष भएको बताउँदै उनले हातहतियारको प्रयोगदेखि जमिन पानी र जस्तोसुकै परिस्थितिमा काम गर्न सिकाएको बताए ।
आइपर्न सक्ने विषम परिस्थितिमा काम गर्न स्पेसल टास्क फोर्स तालिम दिदै आएको बताउँदै उनले यस तालिमले संबेदनशिल ठाउँमा काम गर्न सक्षम बनाउने बताए ।
यो तालिमले पृथकतावादी, आतंकवाद नियन्त्रण गर्न सक्षम बनाएको बताउँदै उनले मानसिक एवं शारीरिक रुपमा कुशल, दृढ बनाएको बताए ।
तालिमपछि हतियारमा निपुणता र तत्काल रेस्पोन्स गर्नेमा दक्षता हासिल भएको भन्दै इमान्दारीपूर्वक काम गर्न आग्रह गरे ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आतंकवाद अहिले संसारमा क्यान्सरको रुपमा रहेको बताए । आतंकवाद नेपालमा पनि नहोला भन्न नसकिने अवस्था रहेको भन्दै उनले यो तालिमले सशस्त्र प्रहरी लड्न सक्षम हुने विश्वास व्यक्त गरे ।
तालिममा ९७ जनाको सहभागिता रहेको भएपनि २० जना नसकेको र ५९ जनाले पूरा तालिम लिएको शिक्षालयका समादेशक एसएसपी डा. नेत्र कार्कीले जनाए ।
उनले यो तालिमपछि आतंकवादबिरुद्धको क्षमता प्रदान गर्न चुस्त दुरुस्त तरिकाले काम गर्ने विश्वास व्यक्त गरे ।
सशस्त्र प्रहरीमा आतंकवाद उपशाखा गठन भई काम शुरु गरिसकिएको समेत जानकारी दिए ।
तालिमका प्रशिक्षार्थीहरुले आफूले सिकेको कार्यकौशलता तालिम समापनको अवसरमा प्रदर्शन गरेका थिए ।