![]()
राजविराज । तराई/मधेशका महिलाले निष्ठापूर्वक मनाइने जितिया पर्व आजदेखि प्रारम्भ भएको छ । झण्डै दुई दशकपछि यस पटक खरजितिया परेको छ ।
जितिया पर्वको पहिलो दिन महिलाहरुले नुहाई धुवाई गरेर पूजा गरिरहेका छन् । पोखरी, नदी, नहरजस्ता जलाशयमा गएर महिलाहरु नुहाईधुवाई गरी विधीपूर्वक पूजा गरिरहेका हुन् ।
बाँस तथा जियलको पात, तोरीको तेल, पिना, दही, केरासहितकाले आज पूजा गर्ने चलन रही आएको छ ।
ब्रतालु महिलाहरुले आज साँझ मिठोचोखो खाएर भोली बिहानको समयमा समेत पूजा गर्नेछन् । यसपछि भोली दिनभर पानी समेत नखाई निराधार ब्रत बस्नेछन् ।
पर्सी सोमबार पारनको समय रहेको छ ।
यस पटक लामो समयपछि खरजितिया परेको छ । शनिबार नुहाईधुवाई गरी आईतबार जितिया पर्व परेपछि खरजितिया मनाउने गरिन्छ । यस दिन हालसम्म ब्रत शुरु नगरेका महिलाहरु जितिया पर्व शुरु गर्छन् । खरजितिया मनाउनले आफ्ना सन्तानको दिर्घायु, सु–स्वास्थ्य अटल रहने जनविश्वास रही आएको छ ।
यसैबीच राजविराजस्थित आशिया पार्टी प्यालेसले ब्रतालु महिलाका लागि पोखरीमा टेन्टहरु लगाइदिएको छ ।
वडा नम्बर ११ स्थित पोखरीमा महिलालाई नुहाएर कपडा फेर्न टेन्ट लगाइदिएको र पोखरीको डिललाई समेत सफा गरिएको प्यालेशका संचालक अकबर हुसैनले जानकारी दिए ।
हुसैले गत बर्ष पनि यो पोखरीलाई सफा गर्दै टेन्ट लगाइदिएका थिए ।












