![]()
राजविराज । जनअधिकार पार्टीले मकवानपुरको भीमफेदीमा भएको सबारी दुर्घटनामा मृत्युवरण गरेका परिवारलाई उचित राहत र क्षतिपूर्तीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
पार्टी अध्यक्ष डा. शरदसिंह यादवले बिहीबार विज्ञप्ती जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन् ।
भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा १० जनाको दुःखद निधन र ५ जना गम्भीर घाइते भएको खबरले स्तब्ध एवं मर्माहत बनाएको उल्लेख गर्दै अध्यक्ष यादवले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
यो दुःखद घडीमा नेपाल सरकार तथा सम्बन्धित निकायसँग घाइतेहरुको तत्काल प्रभावकारी उपचारको व्यवस्था गर्न, उपचारमा कुनै कमी हुन नदिन तथा मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तीको व्यवस्था गर्न विज्ञप्तीमा आग्रह गरिएको छ ।
उक्त दुर्घटनाको निष्पक्ष छानबिन गरी दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुरक्षा तथा सडक व्यवस्थापनका प्रभावकारी उपाय अबलम्बन गर्न समेत विज्ञप्ती मार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘शोकको यस घडीमा जनअधिकार पार्टी शोक सन्तप्त परिवारसँगै रहेको प्रतिबद्धता व्यक्त गर्दछ ।’







