![]()
राजविराज । ठाकुर बाबा युवा क्लब लोहजाराले सप्तरीको तिरहुत गाउँपालिका–१ त्रिकौलमा आयोजित टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिकौल समाजद्वारा शुभदीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिताको उपाधि ठाकुर बाबा युवा क्लबले जितेको हो ।
फाइनल खेलमा जानकी युवा क्लब गोइठीलाई तीन विकेटले पराजित गर्दै ठाकुर बाबा युवा क्लब लोहजाराले उपाधि उचालेको हो ।
टस जितेर पहिले बलिङ रोजेको ठाकुर बाबा युवा क्लब लोहजाराको कसिलो बलिङसामु जानकी युवा क्लब गोइठी १३ ओभर एक बलमै ८५ रनमा समेटिएको थियो ।
जानकीका लागि अनोज यादवले सर्वाधिक १७ र साजन मरिकले १५ रन बनाए ।
जानकीलाई सस्तो स्कोरमा समेट्ने क्रममा ठाकुर बाबा युवा क्लबका सुमन चौधरीले चार ओभरमा नौ रन खर्चेर तीन विकेट लिए । त्यस्तै, अरुण यादवले दुई ओभरमा १८ रन दिदै तीन विकेट तथा उज्ज्वल यादवले तीन ओभरमा पाँच रन खर्चेर दुई विकेट लिए । बसन्तकुमार यादव र संजित साहले एक–एक विकेट लिए ।
८६ रनको विजयी लक्ष्य पछ्याएको ठाकुर बाबा युवा क्लबले ११ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । विजेता टोलीका बसन्तकुमार यादवले सर्वाधिक २२, संजित साहले २१ र राकेश कुश्वाहाले १८ रनको योगदान दिए ।
जानकीका तर्फबाट मुकेश सिंहले तीन ओभरमा ३० रन दिएर तीन विकेट लिए भने अरुण मण्डल र अनोज यादवले दुई–दुई विकेट लिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका ठाकुर बाबा युवा क्लबका अरुण यादव म्यान अफ द म्याच घोषित भए । जानकी युवा क्लबका अरुण मण्डलले बेस्ट बलरको उपाधि पाए । प्रतियोगिता भरि १७५ रन बनाएका डिहबार बाबा कंकालिनी भगवती क्लबका मेहबुब आलम बेस्ट ब्याट्सम्यान तथा म्यान अफ द सिरिज घोषित भए ।
त्रिकौलवासीले चन्दा सङ्कलन गरेर आयोजना गरेको प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता टोलीले कपसहित नगद ५१ हजार र उपविजेता टोलीले कपसहित नगद २६ हजार रुपियाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।
समाजसेवी ललन गोईतको अध्यक्षता तथा समाजका अगुवा बजरंगी खंगको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा तिरहुत गाउँपालिका–५ का वडाध्यक्ष रामानन्द चौधरी, गोपाल प्रसाद गुप्ता, छेदी यादव, पत्रकार विनय कर्ण, जयप्रकाश गोईत, शत्रुघन बहडखेर र देवकान्त यादवले विजेता तथा उपविजेता टोलीलाई शुभकामना दिए ।
वक्ताहरुले खेलकुदले युवामा अनुशासन, आपसी सद्भाव र भाइचाराको भावना विकास गर्ने बताउँदै स्थानीय स्तरमा खेलकुदको विकासका लागि खेल मैदानको स्तरोन्नति गर्न स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।








