![]()
राजविराज । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (आज) मधेश प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । यो प्रदेश सभालाई प्रधानमन्त्री ओलीले दोस्रो पटक सम्बोधन गर्न लागेका हुन् ।
सबै प्रदेशमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत मधेश प्रदेश सभामा पनि सम्बोधन गर्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री रहँदा समेत ओलीले मधेश प्रदेश सभालाई सम्बोधन गरेका थिए । २ भदौ २०७५ मा ओलीले यो प्रदेश सभालाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री ओलीले साढे ११ बजेदेखि सम्बोधन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री ओली आज बिहान साढे १० बजे हेलिकप्टर मार्फत जनकपुर आउने सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली जनकपुर विमानस्थलबाट प्रदेशसभामा पुग्ने र सम्बोधनपछि सिरहामा हुने आमसभामा जाने तालिका रहेको छ ।
उनले पहिलो पटक सम्बोधन गर्दा मधेश प्रदेश नामांकरण समेत भएको थिएन् । प्रधानमन्त्री ओलीले दोस्रो पटक झण्डै ६ बर्षपछि मधेश प्रदेश सभालाई सम्बोधन गर्दैछन् । तर, यो ६ बर्षको अवधीमा उनले मधेश प्रदेश सभाबाटै घोषणा गरेको योजना भने अलपत्र परेको छ ।
२ भदौ २०७५ मा प्रदेश सभालाई सम्बोधन गर्दै ओलीले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजमा बनाउने उद्घोष गरेका थिए ।
उनले यस्तो उद्घोष गरेपछि राजविराज नगरपालिकाले जग्गा खोज्यो । राजविराज नगरपालिकाले वडा नम्बर १० बिरौलस्थित हुलाकी राजमार्ग छेउमा ६२ विगहा जग्गा उपलब्ध गरायो ।
जग्गा उपलब्ध भएपछि तत्कालिन प्रधानमन्त्री समेत रहेका ओलीले २२ असार २०७८ मा भर्चुअल माध्यमबाट शिलान्यास समेत गरे ।
शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठान निर्माणको काम पूरा भएपछि सप्तरी जिल्लाको आर्थिक विकासमा ठूलो मद्दत पुग्ने विश्वास ब्यक्त गरेका थिए । उनले प्रतिष्ठान संचालनमा आएपछि स्वास्थ्य सेवाका साथै रोजगारीका अवसरहरु समेत सृजना हुने बताए ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै सप्तरीमा रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको सुधार, रुपनीदेखी दक्षिणतर्फको फोर लाइन सडक तथा जिल्लाको कृषिमा आधुनिकीकरणका लागि समेत सरकारले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जिल्लाको विकासका लागि सबै राजनीतिक दल, जनप्रतिनिधी तथा सप्तरीवासीलाई एकजुट भई सघाउन आग्रह समेत गरेका थिए ।
प्रधानमन्त्री स्वयंले घोषणा गरेको योजना अझै अलपत्र रहनु ठीक नभएको राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डल बताउँछन् । उनी भन्छन्, ‘यसमा प्रधानमन्त्रीलाई गम्भीर बन्नु जरुरी छ ।’
प्रधानमन्त्री आफैंले घोषणा गरेको र शिलान्यास समेत गरेको योजना ६ बर्षमा समेत मूर्त रुप लिन नसक्नु चिन्ताको बिषय भएको नेपाली कांग्रेस सप्तरीका सचिव सनत मण्डल बताउँछन् ।
‘रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान सप्तरीबासीको सपना हो’ उनी भन्छन्, ‘यत्रो दिनसम्म बिपना भइसक्नुपर्नेमा अझै सपनाकै रुपमा छ ।’
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान ओझेलमा पर्दा बिभिन्न राजनीतिक दल, सप्तरी युथ नेपालसहितका संघ–संस्थाले आन्दोलन समेत गर्दै आएको छ । आन्दोलन गर्दा सरकारले चाँडै निर्माण गर्ने आश्वासन दिएपनि काम अघि बढाउन सकेको छैन् ।
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय स्थापना भइसकेको छ । अहिले प्रतिष्ठानका अध्यक्ष डा. पशुपति चौधरीलाई तोकिएको छ । तैपनि काम अघि नबढ्दा सप्तरीबासीको चाहना अझै अन्यौल देखिन्छ ।











