राजविराज । किसानलाई सिंचाईको व्यवस्था मिलाउन अग्रसर रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले अर्काे ठाउँमा पनि ट्रान्सफर्मरसहित मास्टर विद्युतिय मिटर संचालनमा ल्याएको छ ।
पछिल्लो पटक नगरपालिकाले वडा नम्बर ८ योगिनियाँमा १०० केभिएको ट्रान्सफर्मरसहित मास्टर विद्युतिय मिटर जडान गर्दै संचालनमा ल्याएको हो ।
यसअघि नगरपालिकाको वडा नम्बर १ भारदह र वडा नम्बर ४ गंगापुरमा मास्टर मिटर जडान गरिसकेको छ ।
वडा नम्बर ८ मा जडान गरिएको ट्रान्सफर्मरले ५ वडाका किसान लाभान्वित हुने नगर प्रमुख बीरेन्द्र माझीले जानकारी दिए । उनका अनुसार वडा नम्बर २, ५, ६, ७ र ८ का किसानलाई सिंचाई गर्न सहयोग मिल्नेछ ।
नगरपालिकाले नगरस्तरीय योजनाको रुपमा यो कामलाई अगाडि बढाएको छ । नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत सहभागितामा यो योजना शुरु गरिएको प्रमुख माझी बताउँछन् ।
‘कृषि विद्युतिकरण पहिला पनि गरेका थियौं’ उनले भने, ‘किसानले प्रयोग गर्ने विद्युतको महसुल यसअघि पनि नगरपालिकाले तिरिदिने गरेको थियो । तर किानलाई मिटर लिनै समस्या थियो ।’
किसानलाई जग्गाको लालपूर्जा राख्नुप¥थ्यो र रु ५ हजारसम्म खर्च समेत गर्नुप¥थ्यो । जसका कारण धेरै किसानले मिटर लिनै पाएको थिएन् ।
तर, अब यो समस्याको समाधान भएको छ । ‘प्रत्येक पोलमा क्लीप बोर्ड लगाइएको छ । जसबाट किसानले मोटर चलाउन पाउँछन्’ माझीले भने ।
नगरपालिकाको वडा नम्बर १ भारदहका किसान कोशीको जग्गामा खेतीबारी गर्दै आएका कारण उनीहरुलाई लालपूर्जा छैन् । ‘नेपाल सरकारले लिजमा भारत सरकारलाई जग्गा दिइसकेको अवस्थामा लालपूर्जा कसैसँग नहुनु स्वभाविकै हो’ प्रमुख माझीले भने, ‘यस्तो अवस्थामा सिंचाई गर्न उनीहरुलाई समस्या भइरहेको थियो । अब हुने छैन् ।’