![]()
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी सदस्यमा मनोनित गरिएका सप्तरीका एक नेता पार्टीको साधारण सदस्यता समेत त्यागेका छन् ।
नेता अमरकान्त झाले पार्टीबाट राजीनामा दिएका हुन् । पार्टीका अध्यक्षलाई सम्बोधन गर्दै झाले राजीनामा उल्लेख गरेको निवेदन सोमबार पठाएका छन् ।
‘जसपा नेपाल र लोसपा नेपालबीच एकीकरण पश्चात हालै गठित केन्द्रीय कार्यकारिणी समितिमा मलाई सदस्य बनाइएकोमा सहृदयतापूर्वक धन्यवाद ज्ञापन गर्दछु’ निवेदनमा भनिएको छ, ‘आफ्नो व्यक्तिगत कारणले गर्दा सोही पदमा काम गर्न नसक्ने भएकोले म उक्त पदसहित जसपा नेपालको साधारण सदस्य समेतबाट राजीनामा दिन चाहन्छु ।’
प्राध्यापन पेशामा रहेका झा नेपाली कांग्रेस परित्याग गरी तत्कालीन महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका थिए ।
केही दिनअघि मात्रै ठाकुर नेतृत्वको लोसपा जसपासँग एकीकरण गर्दा झालाई केन्द्रीय कार्यकारिणी समितिको सदस्य बनाइएको थियो ।








