![]()
राजविराज । सशस्त्र प्रहरी बलका ११० जना जवान बुधबारदेखि एकैसाथ कार्यक्षेत्रमा प्रवेश गरेका छन् ।
सप्तरीको कंचनरुप नगरपालिका २ स्थित सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा आयोजित आधारभूत तालिममा सहभागी भएकाहरुको दीक्षान्त भएसँगै उनीहरु कार्यक्षेत्रमा प्रवेश गरेका हुन् ।
पहिलो चरणमा २१ र दोस्रो चरणमा १९ गरी ४० हप्ता तालिम लिएका उनीहरुको बुधबार एक समारोहकाबीच दीक्षान्त भएको छ । दीक्षान्त भएसँगै उनीहरु कार्यक्षेत्रमा प्रवेश गरेको शिक्षालयका समादेशक एसएसपी नेत्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार तालिममा ११६ जनाको सहभागिता रहेपनि ४ जना तालिम छाडेर गएको र २ जना स्वास्थ्यका कारण फिर्ता भएपछि ११० जनाले नियमित तालिममा सहभागिता जनाएका थिए ।
तालिममा हतियार सम्बन्धी ज्ञान, फिल्ड क्राफ्ट, व्याटल क्राफ्ट, नक्शा अध्ययन, युद्धकला (कन्भेन्सनल), प्रति बिद्रोह युद्धकला, फिल्ड इन्जिनियरिङ, सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी, मेडिकल, मानवअधिकार, लैङिक हिंसा, अपराध अनुसन्धान तथा नियन्त्रणसहितका बिषयमा प्रशिक्षण दिइएको छ ।
यस्तै, व्यवहारिकतर्फ शारीरिक सहिष्णुता, फायरिङ, हतियार ह्याण्डलिङ, अब्स्टयाकल, ड्रिल, सिएफसी, अतिरिक्त कृयाकलपा, अन आम्र्ड कम्व्याट (कराँते, जुडो, तेक्वान्दो) का बिषयमा समेत प्रशिक्षण दिइएको समादेशक कार्कीले बताए ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बलका मधेश प्रदेश प्रमुख डीआइजी कालीदास धौवजीले सेवामा प्रवेश गरेकाहरुलाई सशस्त्र प्रहरीको गरिमालाई अझ उचाइँमा पु¥याउने विश्वास व्यक्त गरे ।
कर्तव्यनिष्ठ भएर इमान्दारीपूर्वक काम गर्न जोड् दिदैं उनले तालिममा सिकेका गुणलाई सही तरिकाले उपभोग गर्न निर्देशन दिए ।
दीक्षान्त समारोहमा समादेशक कार्कीले प्रहरी जवानलाई शपथ ग्रहण गराएका थिए ।
उक्त अवसरमा प्रशिक्षार्थीहरुले मार्शल आर्ट, कुखुरी कवाज, व्याण्ड टोलीद्वारा सांगितिक प्रस्तुतिकरण गरिएको थियो ।












