![]()
राजविराज । विदाई भएर जान लागेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालले सप्तरीमा आफूले अपार माया पाएको बताएका छन् ।
विदाई भएर जाने क्रममा शुक्रबार संचारकर्मीसँग कुराकानी गर्दै दाहालले यस्तो बताएका हुन् । उनले काम गर्ने सिलसिलामा आफूलाई सबैले सहयोग गरेको बताए । राजनीतिक दल, संचारकर्मी, पालिका प्रमुख सबैले समन्वयकारी भूमिका निर्वाह गरेकै कारण काम गर्न आफूलाई सहज भएको बताए ।
‘गोरखाबाट सरुवा भएर सप्तरी आउन लाग्दा कतिपयले यस्तो खत्तम जिल्ला नजानुस भन्ने सुझाव दिए’ उनले भने, ‘तर ती व्यक्तिहरुले गलत भनेका रहेछन् । यहाँ अत्यधिक माया र प्रेम पाएको छु ।’
उनले सप्तरीलाई बिना कारण बदनाम गर्ने गरिएको बताउँदै जिल्लामा आफूले आफ्नो घर परिवारजस्तै महसुस गरेको बताए ।
सप्तरी जिल्ला आफ्नो लागि तालिमस्थल समेत भएको बताउँदै उनले यहाँ धेरै अनुभव बटुलेको बताए । ‘यहाँको अनुभवले म अब जुनसुकै जिल्लामा गएर काम गर्न सक्ने क्षमता बनाएको छु’ उनले भने ।
सप्तरीमा काम गर्दा आफूले कुनै पनि नाजायज फाइदा नउठाएको उनले बताए । ‘काम गर्ने सवालमा होस् या अन्य सवालमा कसैसँग कुनै किसिमको फाइदा लिएको छैन’ उनले भने, ‘मेरो नाम लिएर अन्य कसैले लिएको भए त्यो उसैले जानुन् ।’
दाहालले आफूलाई कुनै पाटर्तीप्रति आस्था भएपनि काम गरिरहँदा कुनै पनि दलसँग त्यस्तो व्यबहार समेत नगरेको बताए ।
दाहाल सप्तरीमा झण्डै साढे ९ महिना काम गरेका छन् । उनको दोलखा जिल्ला सरुवा भएको छ ।
उनलाई बिभिन्न राजनीतिक दलका नेता, पालिका प्रमुख, बिभिन्न संघ–संस्थाका प्रतिनिधीले सम्मान गरेका छन् ।












