![]()
राजविराज । बिष खुवाएर आफ्नै छोराको हत्या गरेको आरोपमा सप्तरीबाट एक महिला पक्राउ परेकी छन् ।
राजविराज नगरपालिका वडा नम्बर १ बस्ने काजल साफीलाई यो आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२५ बर्षीया साफीलाई कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिएर सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद लिई अन्य अनुसन्धान गरिरहकेो पुरीले बताए ।
अनिल कुमार साफीकी पत्नी काजलले नाम नखुलेको किरा मार्ने विषादी आफू समेत छोरालाई पनि १४ बैशाखमा खुवाएकी थिइन् ।
बिष खुवाउँदा उनका ४ बर्षका छोरा सौरभको मृत्यु भएको थियो भने उनी पनि सिकस्त भएकी थिइन् । काजलको विराटनगरमा उपचार भएको थियो ।
यद्यपी काजलले आफूले छोरालाई बिष नखुवाएको र आफू शौचालय जाँदा गहुँमा हाल्ने बिषादी खाएको त्यस बेला संचारकर्मीलाई बताएकी थिइन् । छोराले बिषादी खाएको देखेपछि आफू पनि किन बाँच्ने भन्दै आफूले पनि खाएको उनले बताएकी थिइन् ।












