![]()
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा राजतन्त्र कहिल्यै पनि फर्केर आउन नसक्ने बताएका छन् ।
राजविराजस्थित नेपाल पत्रकार महासंघ, सप्तरीमा बुधबार पत्रकार सम्मेलन गरी अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
उनले हिमालबाट हिउँ पग्लिएर पहाड, तराई हुँदै गंगा समुन्द्रतिर मिसिएको पानी पुनः फर्केर हिमालतिर नचढे झैं संघीय गणतन्त्रमा हुर्किसकेको, बढिसकेको नेपाल अब फेरी राजतन्त्रात्मक तानाशाही व्यवस्थातर्फ जान नसक्ने बताए । त्यता फर्काउन असफल प्रयासहरु हुँदै अएको उनले बताए ।
उनले संघीय गणतन्त्रलाई संस्थागत गर्न, प्रदेशहरुलाई बलियो बनाउनु अहिलेको जरुरी रहेको बताए । ‘राज्यको हरेक निकाय तथा प्रतिनिधत्व हुने ठाउँहरुमा सत्ता शक्तिमा सबै समुदायको न्यायोचित्त साझेदारी र न्यायोचित्त बाँडफाँड हुन जरुरी छ । समानुपातिक प्रतिनिधीत्व हुनु जरुरी छ’ उनले भने ।
अहिलेको निर्वाचन प्रणालीको ठाउँमा समानुपातिक निर्वाचन प्रणालीको आवश्यक्ता रहेको उनको भनाई छ । ‘त्यो सँगसँगै विभेदमा पारिएका अल्पसंख्यक, शोषण उत्पीडनमा परेका समुदायहरुलाई मधेशी आदिवासी जनजाती, महिला, थारु, पिछडा वर्गलाई न्याय दिने गरी संविधान संशोधन अहिलेको राजनीतिक समाधानको एउटा बाटो हुन सक्छ’ उनले भने ।












