![]()
राजविराज । शिक्षित आमाहरुले नै आफ्ना नवजात शिशुलाई स्तनपान गराउन नचाहेको एक कार्यक्रममा बताइएको छ ।
सप्तरीमा शुरु भएको ‘जीवनका लागि पोषण’ परियोजनाको सप्तरी जिल्लास्तरीय प्रारम्भिक बैठकमा यस्तो जानकारी गराइएको हो । शिशु जन्मेको कम्तीमा २ बर्षसम्म आमाको दूध खुवाउनुपर्नेमा यो क्रम अहिले आएर धेरै घटेको कार्यक्रममा जानकारी गराइयो । आफ्ना नवजात शिशुलाई अमाले आफ्नै दूध खुवाउनुपर्नेमा डिबामा गाईभैंसीको दूध खुवाउँदा बच्चाहरु कुपोषणको शिकार भइरहेको कार्यक्रममा बताइयो ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक जागेश्वर खडगाले शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउने चलन देखिएपनि पछि स्तनपान गराउन छाड्ने गरिएको बताए ।
उनले सप्तरी जिल्लामा कडा किसिमको कुपोषण बच्चाहरुमा देखिएको बताउँदै यसको नियन्त्रणका लागि सबैले चासो राख्नुपर्ने बताए ।
स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास (हर्ड नेपाल) ले हेलेन केलर इन्टरनेशनलको सहयोगमा सप्तरीको सबै पालिकामा जीवनका लागि पोषण कार्यक्रम संचालनमा ल्याएको छ ।
६ देखि ५९ महिनाका बालबालिकामा शिघ्र कुपोषणको अवस्थामा सुधार ल्याउन, आमा तथा नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन, समुदायस्तरमा काम गर्ने अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता सुदृढ गर्न र तीनै तहका सरकारको मातृ तथा नवजात शिशु पोषण सुधारमा प्रतिबद्धता तथा स्वामित्व र दिगोपना प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम संचालनमा ल्याइएको कार्यक्रममा जानकारी गराइयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले शिक्षित बन्दै जाँदा पनि स्तनपान नगराउने क्रम बढ्नु चिन्ताको बिषय भएको बताए ।
उनले अब जन्मिने बच्चा कुपोषित नहुन भन्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताए । यो परियोजना सकिएपछि स्थानीय तहले निरन्तरता दिनुपर्नेमा उनले जोड् दिए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश कुमार यादवले विश्वमा ४५ प्रतिशत र नेपालमा पनि सोही अनुपातमा कुपोषणका काराण बालबालिकाको मृत्यु हुने गरेको जानकारी गराए ।
कुपोषणलाई अन्त्य गर्नु सबैको दायित्व भएको उनले बताए ।












