![]()
राजविराज । राजविराज नगरपालिकाले बर्तमान अवस्थामा लामखुट्टेविरुद्धको किटनाशक औषधि छर्किन नमिल्ने बताएको छ ।
लामखुट्टेको प्रकोप बढिरहँदा किटनाशक औषधि खरीद गरेर पनि छर्किने काम नगरेको भन्दै आलोचना भएपछि नगरपालिकाले आफ्नो धारणा बाहिर ल्याएको छ ।
नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गर्दै बर्तमान अवस्थामा यो औषधि छर्किन नमिल्ने बताएको हो । पत्रकार सम्मेलनमा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कामेश्वर यादवले कार्यविधी अनुसार बर्तमान अवस्थामा छर्किन नमिल्ने बताए ।
‘यो औषधि छर्किनका लागि मलेरिया, कालाजार र डेंगुको प्रकोप देखिनुपर्छ’ उनले भने, ‘अन्यथा छर्किन मिल्दैन् ।’
अन्तरंग अवशिष्ट विषादी छिडकाउ सम्बन्धी कार्यविधी २०८१ ले यो कुरा स्पष्ट पारेको उनले बताए । यो कार्यविधीले डेंगी, औंलो, कालाजार रोकथाम र नियन्त्रणका लागि लामखुट्टेको प्रजनन स्थल तथा लार्भा/प्यूपा खोज र नष्ट गर्ने कार्यविधीमा व्यवस्था भए बमोजिम एवं आवश्यक वातावरणीय सरसफाई तथा फोहोरमैला व्यवस्थापन गरी लामखुट्टे नियन्त्रण गर्ने व्यवस्था रहेको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा नगरपालिकाका कावा प्रमुख इसरत परबिनले लामखुट्टेका कारण कुनै महामारी नफैलिँदासम्म औषधि छर्किन नमिल्ने सम्बन्धित निकायले सल्लाह दिएको बताइन् ।
‘यस विषयमा हामीले जिल्ला स्वास्थ्य कार्यालयसँग सल्लाह माग्यौं, स्वास्थ्य कार्यालयले मन्त्रालयसँग सल्लाह मागेको छ’ परबिनले भनिन्, ‘त्यहीं अनुरुप हामी नछर्किने निष्कर्षमा पुगेका हौं ।’
उनले लामखुट्टेविरुद्धको औषधिले वातावरणीय प्रभाव पार्दै मानवको स्वास्थ्यमा समेत असर पार्ने गरेको स्वास्थ्य मन्त्रालयले बताएको उल्लेख गरिन् । ‘तत्काल अहिले यो औषधि छर्किदा अन्य झमेलाहरु पनि आउन सक्छ’ उनले भनिन, ‘त्यहीं भएर यो काम गर्न सकिन्नँ ।’
‘अनि नछर्किने हो भने त्यत्रो लगानी गरेर किन खरीद गरेको ?’ भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्, ‘महामारी फैलिएपछि प्रकृयामा जानुभन्दा किनेर राखिदिँदा राम्रो भएको छ ।’












