![]()
राजविराज । यौनधन्दा चलाएको आरोपमा सप्तरीका चार जना युवक सिरहाबाट समातिएका छन् ।
जिल्लाको लहान तथा धनगढीमाई स्थित होटेलहरुबाट उनीहरुसहित आठ जना पक्राउ परेका छन् ।
लहान नगरपालिका वडा नम्बर ३ अस्पताल चोकस्थित अनलाइन होटल एण्ड लजबाट सप्तरीका तीन युवक समातिएका छन् । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका ९ टिकुलियाका २१ बर्षीय अशोक कुमार चौधरी, २० वर्षीय नितिक कुमार चौधरी र १९ बर्षीय आकाश चौधरी छन् ।
यी तीनै जनासँग मिलेर होटल सञ्चालिका ४० बर्षीया अर्चनाकुमारी चौधरीले चार जना महिलालाई होटलमा बोलाएर यौनधन्दामा लगाएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले होटेल संचालिका अर्चनाकुमारी समेतलाई पक्राउ गरी सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
यस्तै, धनगढीमाई नगरपालिका वडा नम्बर ११ स्थित खुश्बु होटल एण्ड लजबाट सप्तरीका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बलान बिहुल गाउँपालिका वडा नम्बर ६ का ३८ बर्षीय शिवकुमार यादव छन् । होटेलका सञ्चालक ३४ वर्षीय गुज्जेश्वर साहले दुई जना महिलालाई होटलमा बोलाई यादवसँग मिलेर जबरजस्ती यौनधन्दा गराएको प्रहरीको भनाई छ । पक्राउ परेकाहरुलाई सात दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी रमेश बहादुर पालले जानकारी दिए ।
पालका अनुसार लहान नगरपालिका वडा नम्बर ८ बाट महिलालाई बोलाएर यौनधन्दामा लगाएको आरोपमा एक दम्पति समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिलीप साह र उनकी पत्नी सुनिता साह छन् । यी दम्पतिले तीन जना महिलालाई फोन सम्पर्क गरी आफ्नै घरमा बोलाएर आर्थिक प्रलोभनमा पारी यौनधन्दामा लगाएको पाइएको डीएसपी पालले बताए ।
उनीहरूलाई जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।












