![]()
राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीका पूर्व अध्यक्षहरुले बर्तमान सरकार निरंकुश शैलीमा काम गर्न शुरु गरेको बताएका छन् ।
सरकारी विज्ञापन सरकारी मिडियामै दिने सरकारी परिपत्रविरुद्ध नेपाल पत्रकार महासंघ, सप्तरीले बुधबार आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व अध्यक्षहरुले यस्तो बताएका हुन् ।
पूर्व अध्यक्षहरुले यो हतासको निर्णय भएको भन्दै फिर्ता लिन आग्रह गरेका छन् । यस्तो परिपत्रले नीजि संचार माध्यम धरासायी हुने र धेरै पत्रकार बेरोजगार बन्ने अवस्था आउन सक्ने भन्दै उनीहरुले सरकारको कदमको निन्दा गरेका छन् ।
पूर्व अध्यक्ष बिष्णु मण्डलले सरकारको यो कदमले युवा पींढीको भविष्य अन्कार बन्ने भन्दै पत्रकारको रोजगारी अन्त्य गर्ने नीति बन्द गर्न आग्रह गरे ।
पूर्व अध्यक्ष बैद्यनाथ झाले सरकारी मिडियालाई मात्रै सरकारी विज्ञापन दिनु घोर आपत्तिजनक भएको बताए । प्रजातन्त्रको लागि ज्यानको आहुती दिने पत्रकार र संचार माध्यमलाई जोगाउनु राज्यको कर्तव्य भएको भन्दै यसमा पुर्नविचार नगरिए आन्दोलनमा उत्रिनुपर्ने धारणा राखे ।
अर्का पूर्व अध्यक्ष मुरली प्रसाद यादवले नीजि मिडियालाई सरकारी विज्ञापन नदिनु प्रेस स्वतन्त्रता बिरोधी कदम भएको बताए । उनले यो उर्दी सरकारले फिर्ता लिनुपर्ने बताए ।
त्यसैगरी अर्का पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहले देखिएका बेथिति अन्त्य गरी सरकारले विज्ञापनलाई व्यवस्थित बनाउनुपर्ने बताए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतमा सम्पन्न भएको थियो ।












