![]()
राजविराज । वैदेशिक राेजगारीका लागि दुबई गएका सप्तरीका एक व्यक्ति पछिल्लो पाँच महिना यता सम्पर्कविहीन भएका छन ।
२०७९ सालमा दुबई गएका शम्भुनाथ नगरपालिका वडा नम्बर ४ सिरकजरी निवासी देवनारायण राम गत मंसिर महिनादेखि सम्पर्कविहिन हुँदा परिवारजन चिन्तित भएका छन् ।
२०७९ बैशाख १ गते सपोर्ट मेनपावर मार्फत दुबई गएका ४१ बर्षका राम दुबई विमानस्थलमा सरसफाइ काम गर्दै आएका थिए ।
उनी २०८१ साल मंसिर ५ गते विदामा नेपाल फर्किन लागेका थिए । तर विमानस्थलमा उनको पासपोर्ट नियन्त्रणमा लिएको उनकी पत्नी निलमले जानकारी दिइन । ‘त्यसबेला पासपोर्ट लिएपछि आफ्ना पति पुनः सोही विमानस्थलमा पुगेर काम गर्न थाल्नुभयो’ उनले भनिन्-गत मंसिर ५ गते पासपोर्ट लिन जादैछु भन्ने जानकारी गराउनुभयो । यसपछि उहाँ सम्पर्कमा आउनुभएको छैन ।’
देवनारायण सम्पर्कमा नआएपछि परिवार चिन्तित भएका छन् ।
‘थोरै भएपनि रकम पठाउदा परिवार पालिरहेका थियौ’ अहिले छाँक टार्नै समस्या छ’ आँसु झार्दै उनले भनिन, ‘झन उहाँ सम्पर्कमा न आएपछि हामी गम्भीर चिन्तामा छौ ।’
देवनारायणका सात बर्षकि छोरी र पाँच बर्षका छोरा छन । यी दुईलाई पाल्न अहिले अर्काको घर र खेतमा काम गर्नुपर्ने वाध्यता निलमकुमारीलाई उत्पन्न भएको छ ।’
सम्पर्कविहिन भएका देवनारायणको खोजी गरि देश फर्काइदिन उनका साला मायाराम मोचीले परराष्ट मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागको कन्सुलर तथा कानुनी परामर्श शाखा काठमाडौमा निवेदन दिएका छन् ।
२२ मंसिर २०८२ मै निवेदन दिदा समेत उक्त शाखाले कुनै चासो नलिएको देवनारायणकि पत्नी निलमले गुनासो गरिन ।
उनले आफ्नो पतिको अवस्था पत्ता लगाइदिएर देश फर्काइदिन सरकारसहित सम्बन्धित निकायसँग आग्रह गरेकी छन् ।












