आज गणतन्त्र दिवस । नेपालीले रगत बगाएर ल्याएको तन्त्र हो यो । देशमा बिभिन्न तन्त्रपछि गणतन्त्रको स्थापना भएको छ । गणतन्त्र स्थापना भएको दिन देशभरि बिभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ । सरकारी कार्यालयदेखि राजनीतिक दलहरुले पनि बिभिन्न किसिमको गतिविधी गर्दै आएका छन् । आज पनि बिभिन्न गतिविधी होला हाम्रो देशमा । गणतन्त्र दिवसलाई सम्झिनु र यस दिन सार्वजनिक विदा दिनु आफ्नो ठाउँमा ठीकै होला । तर, यसको कार्यान्वयन कति भएको छ त्यसको समिक्षा भने हुनु जरुरी छ ।
देश र जनताको अवस्थामा सुधार गर्ने उद्देश्यले नै गणतन्त्रको स्थापना गरिएको छ । यो तन्त्रले हरेक नेपालीको राज्य संयन्त्रमा समान सहभागिता हुने, जनता आफैं मालिक बन्ने, धनी–गरीब, उपल्लो जात–तल्लो जात जस्ता नारा नरहने, सबैसँग समान व्यबहार गर्ने, बेरोजगारीको समस्या समाधान हुने, हरेक व्यक्तिले चुनाव लड्न पाउने, देश समृद्धिपथमा अघि बढ्ने आम नेपाली जनताको अपेक्षा थियो । यो तन्त्र स्थापना हुनुअघि भएको जनआन्दोलनका क्रममा देशका नेताहरुले यस्तै प्रतिबद्धता पनि जनाएका थिए । अहिलेको शाषण सत्तामा पनि उहीं नेताहरु राज गरिरहेका छन् ।
सत्तामा रहेका यी नेताहरु आफ्नो परिवारवाद, आफन्तवाद र कार्यकर्तावादबाहेक माथि उठ्न सकेका छैनन् । जसका कारण मुलुकमा योग्य व्यक्ति विदेश पलायन हुन बाध्य छन् भने केहि गुण नभएका व्यक्ति पनि नेताको रोजाइमा परिरहेका छन् । गणतन्त्र स्थापना गर्ने बखत यस्तो कामले निरन्तरता पाइरहन्छ भन्ने कल्पना समेत नेपाली जनताले गरेका थिएनन् । तर अहिले पुरानोभन्दा पनि बढी स्वार्थमा नेताहरु रुम्लिन थालेका छन् । यसले पक्कै पनि गणतन्त्रको अनुभूति गर्न सकिन्न । गणतन्त्रको अनुभूति दिलाउनु नेताहरुका लागि जरुरी छ ।