राजविराज । सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य दिनेश कुमार यादवले मिटरव्याजको नाममा व्यक्तिहरु प्रहरी–प्रशासनबाट त्राहिमाम रहेको बताएका छन् ।
राजविराजस्थित सप्तरी कारागारको अतिक्रमण हटाउने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफल कार्यक्रममा यादवले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखकै सामुन्नेमा उक्त कुरा बताएका हुन् ।
सांसद यादवले मिटरव्याजको नाममा व्यक्ति प्रहरी–प्रशासनबाट त्राहिमाम भएको बताए । ‘जति माओवादीको जनसरकारबाट व्यक्ति त्राहिमाम थिएनन्, अहिले प्रहरी–प्रशासनबाट भएको छ’ उनले भने ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनले मिटरव्याजको नाममा कसैलाई अनाहक दुःख दिन नहुने र गहिरो अनुसन्धान हुनुपर्ने बताए । कसैलाई दवाव दिएर नहुने भन्दै उनले अनुसन्धान बिना कसैलाई दोषी समेत देखाउन नमिल्ने बताए ।
मिटरव्याजको हल्लाका कारण व्यक्तिहरु अहिले ऋण पाउन नसकेर महत्वपूर्ण कामहरु गर्न नसकेको उनले बताए ।
उनले पालिकाका जनप्रतिनिधिको पनि आलोचना गरे । जग्गा वर्गीकरणको अधिकार पाएपनि पालिकाका जनप्रतिनिधीले गर्न नसकेको उनले बताए ।